कोरोना महामारीकाबीच ६३ हजारबढी नेपाली स्वदेश फिर्ता



काठमाडौं / ३० भदौ।
कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण विभिन्न मुलुकमा अफ्ठ्यारोमा परेका ६३ हजार ३४७ नेपाली स्वदेश फर्किएका छन्।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को पछिल्लो विवरणअनुसार यही भदौ २८ गतेसम्म विभिन्न ३० मुलुकबाट भएको चार्टर्ड उडान तथा नियमित उडानमार्फत ६३ हजार बढी नेपाली घर फर्किएका हुन।

यीमध्ये सबैभन्दा धेरै नेपाली यूएईबाट स्वदेश फर्किएका छन्। नेपालीहरुको प्रमुख श्रम गन्तव्य मुलुक मध्यको एक यूएईबाट १७ हजार ९६३ नेपाली काठमाडौं ओर्लिसकेका छन्।

यूएईपछि मलेसियाबाट ठूलो संख्यामा नेपाली फर्केका छन्। मलेसियाबाट ९ हजार ७४१ नेपाली स्वदेश आइपुगेका छन्। त्यसैगरी साउदी अरेबियाबाट ९ हजार ४६४ र कतारबाट ८ हजार २४७ नेपाली नेपाल फर्किएका छन्। कुवेतबाट ७ हजार ६०, जापानबाट १ हजार ४९६, दक्षिण कोरियाबाट १ हजार १६५, बहराइनबाट १ हजार १२८ र अष्ट्रेलियाबाट १ हजार ९१ जना नेपाली स्वदेश फर्किएको बैदेशिक रोगजार विभागका महानिर्देशक कुमार दाहालले जानकारी दिए।

दाहालका अनुसार ओमनबाट ९७६, बंगलादेशबाट ८६५, माल्दिभ्सबाट ८४५ र टर्कीबाट ५७४ नेपाली स्वदेश आइपुगेका छन्। अमेरिकाबाट ४२३, थाइल्याण्डबाट ३२६, सिंगापुरबाट २९७, चीनबाट २५९, दक्षिण सुडानबाट २५०, बेलायतबाट २२९, हङकङबाट २२६ र फिलिपिन्सबाट २०१ नेपाली पनि स्वदेश फर्किएका छन्।

आफैं टिकट काट्न सक्ने अवस्थामा नरहेका र रोजगारी पनि गुमाइसकेका नेपालीलाई सरकारले आफ्नै खर्चमा स्वदेश फर्काउन कार्यविधि बनाएको थियो। सरकारले श्रम गन्तव्य मुलुकमा रहेका नियोगहरुमा उक्त निर्देशिका समेत पठाइसकेको छ। तर, कहिलेदेखि र कसरी फर्काउन सुरु गर्ने भन्ने अझैसम्म टुंगो लागको छैन।

प्रदेशगत हिसाबले सबैभन्दा बढी बाग्मती प्रदेशका १७ हजार २१५, प्रदेश नं १ का १३ हजार ३६५, प्रदेश नं २ का १० हजार ८००, प्रदेश नं ५ का १० हजार ६५९, गण्डकी प्रदेशका ८ हजार २६५, सुदूरपश्चिम प्रदेशका १ हजार ६१७ र सबैभन्दा कम कर्णाली प्रदेशका १ हजार ४२६ नेपाल फर्किएका छन्। फर्किएकामध्ये ८ हजारभन्दा बढी महिला कामदार रहेको महानिर्देशक दाहालले बताए।

सरकारले गत जेठ १६ गते तेस्रो मुलुकमा रहेका नेपाली नागरिकलाई प्राथमिकीकरण गरेर स्वदेश फर्काउने निर्णय गरेको थियो। सोही निर्णय अनुरुप जेठ २८ गतेबाट विभिन्न एयरलाइन्सका चार्टर्ड जहाजले नेपाली फर्काउन सुरु गरेका थिए। पछिल्लो समय सरकाले सीमित संख्यामा नियमित जहाज उडाउन पनि अनुमति दिएको थियो।

फर्किएका सबै नेपाली आफ्नै खर्चमा समान्य भन्दा दोब्बर महँगो भाडा तिरेर चार्टर्ड फ्लाइटमा आएका हुन्। उनीहरुमध्ये धेरैजसोले आफ्नै पैसाले टिकट काटेका हुन् भने केहीलाई रोजगारदाता कम्पनीले उपलब्ध गराएको हो।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्