काठमाडौं / ३० भदौ।
भारत सरकारले प्याजको निर्यातमा तत्कालका लागि प्रतिबन्ध लगाएको छ । भारतले निर्यातमा रोक लगाएसँगै नेपालमा प्याजको मूल्य बढ्न थालेको छ ।
कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिका अनुसार सोमबार सुकेको प्याज(भारतीय)को थोक मूल्य प्रतिकिलो ५९ देखि ६१ रुपैयाँ थियो । तर मंगलबार भने प्याजको मूल्य ७४ देखि ७६ रुपैयाँसम्म कायम भएको छ ।
सोमबारको तुलनमा मंगलबार प्याजको भाउ करिब २५ प्रतिशतले बढेको छ । तरकारी पसलमा भने एक किलो प्याजको खुद्रा मूल्य ८० रुपैयाँभन्दा बढी पुगेको छ ।
भारतको वाणिज्य एवं उद्योग मन्त्रालयअन्तर्गत रहेको विदेश व्यापार निर्देशनलालयले सोमबार सूचना जारी गर्दै सबै प्रकारको प्याजको निर्यातमा रोक लगाएको हो ।
दक्षिण भारतमा भारी वर्षाका कारण प्याज उत्पादन घटेकाले भारतमा पनि मूल्य अचाक्ली बढिरहेको छ । कर्नाटक, आन्ध्र प्रदेशलगायतका दक्षिण भारतीय राज्यमा लगातारको वर्षाले प्याजको उत्पादनमा क्षति पुगेको छ ।
भारतमा एक महिनाभित्रमै प्याजको भाउ तीन गुणासम्म महँगो भएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । दक्षिण एसियामा भारत सबैभन्दा बढी प्याज उत्पादन गर्ने मुलुक हो । नेपाललगायत बंगलादेश, श्रीलंका र मलेसिया भारतीय प्याजमै निर्भर रहेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।