रोजगारीको जिम्मेवारी आफैंले लिनुपर्ने सर्तसहित बिदामा आएकाहरु बहराइन फर्कन थाले



काठमाडौं /०१ असोज।
बहराइनबाट बिदामा आएका तर कोरोनाको कारण नेपालमै रोकिएका नेपालीहरु बहराइन फर्कन थालेका छन् ।

बिदामा आएका तर कोरोनाका कारण रोकिएका १४५ जना बहराइन पुगिसकेको बहराइनमा रहेको नेपाली दूतावासले जनाएको छ ।

यस्तै बहराइनमा रहेको नेपाली दूतावासले बहराइन फर्कन चाहने २१५ जना नेपालीको नामावली पनि सार्वजनिक गरेको छ ।

तर अब बहराइन फर्कनेले काम पाउने, नपाउने लगायत सबै कुराको जिम्मेवारी भने आफैंले लिनु पर्नेछ । सबैभन्दा पहिले बहराइन जानका लागि पीसीआर जाँच नेगेटिभ भएको रिपोर्ट, भ्यालिड भिसा, श्रम स्वीकृतिको कागजात साथमा लिएर यात्रा गर्नुपर्छ । बहराइनमा रोजगारदाताले काम दिन्छन् भन्ने कुराको जिम्मेवार स्वयं व्यक्ति आफैं हुनुपर्छ ।

बहराइन पुगेपछि बहराइन दिनार ३० तिरेर कोरोना परीक्षण गराउनुपर्छ । नेगेटिभ आएमा सात दिन आइसोलेशनमा बस्नुपर्छ र आइसोलेशनमा बसेको सात दिनपछि फेरि कोरोना जाँच गराउनुपर्छ ।

त्यसबेलामा पनि बहराइन दिनार ३० लाग्नेछ । यो खर्च व्यक्ति स्वयंले नै व्यहोर्नुपर्छ । नेपालबाट जानुअघि पनि नेपाल सरकारले लागू गरेका सबैखाले नियमहरु पालना गर्नु पर्नेछ ।

बहराइन पुगिसकेपछि केही कारणबस अध्यागमनले अनुमति नदिएमा त्यसको जिम्मेवारी व्यक्ति स्वयंले नै लिनु पर्नेछ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्