रमेश विश्वकर्मा
गुल्मी, १ असोज । गुल्मी जिल्लामा कोभिड-१९ परिक्षण प्रयोगशालाको उद्घाटन गरिएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका वडा नं. ९ को उपल्लो तम्घासमा निर्माण गरिएको कोभिड-१९ परिक्षण प्रयोगशालाको नेपाल सरकारका परराष्ट्र मन्त्री एवम् प्रवक्ता प्रदीपकुमार ज्ञवालीले बिहीबार उद्घाटन गरेका हुन् ।
प्रयोगशालाको उद्घाटन गर्दै मन्त्री ज्ञवालीले कोरोनासँग जुध्ने र अर्थतन्त्रलाई चलायमान बनाएर कोरोना संकटलाई पार लगाउन सरकारले नयाँ ढंगबाट काम सुरु गरेको बताएका छन् । उनले ६ महिनासम्मको लकडाउनले मुलुकको अर्थतन्त्र डुब्न थालेकाले निषेधाज्ञा हटाइएको बताए ।
अबको लडाइँ चुनौतीपूर्ण भएको भन्दै मन्त्री ज्ञवालीले लामो समय लकडाउन सम्भव नरहेको बताए । अब सबैले आ–आफ्नो ठाउँबाट सचेत भएर कोरोनासँगको लडाइँमा विजय प्राप्त गरी पुरानै अवस्थामा फर्काउनु पर्छ । सरकारले यस अवधिमा कोरानाको बारेमा चेतना अभिवृद्धि गर्ने काम गरेकाले सामाजिक दुरी कायम गरी हरेक गतिविधि सञ्चालन गरी जोगिएर काम गर्न उनले सर्वसाधारणलाई आग्रह गरे । अब स्वास्थ्य पनि जोगाउनुपर्ने र अर्थतन्त्र पनि बलियो पानुपर्ने चुनौतीलाई सामान गरेर अघि बढ्नुपर्ने बेला आएको उनले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।