सैघाली खबर
काठमाडौं,१० पुस
क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मोत्सव आज नेपालसहित विश्वभर मनाइँदै छ । येशु ख्रीष्टको जन्मदिनको खुसियालीमा हरेक वर्ष २५ डिसेम्बरमा संसारभर विशेष महत्वका साथ क्रिसमस पर्व मनाइन्छ ।
‘क्रिसमस डे’ भनिने आजको दिनमा नेपाल सरकारले सार्वजनिक विदा दिएको छ ।ख्रीष्टमसका अवसरमा आज देशभरका चर्चमा प्रार्थनालगायत कार्यक्रम गरी येशु ख्रीष्टको सम्झना गरिँदैछ । यस अवसरमा राष्ट्रिय ख्रीष्टियन महासंघले राष्ट्रिय सभागृहमा ख्रीष्टमस महोत्सव आयोजना गरेको छ ।
क्रिसमस येशुको शिक्षा एवं उपदेशको मनन गर्नुका साथै प्रेम प्रकट गर्दै, शुभकामना तथा उपहार आदानप्रदान गरिन्छ । क्रिसमसको अवसरमा राष्ट्रपति, प्रधानमन्त्री लगायतले शुभकामना सन्देश दिएका छन् ।क्रिसमसका अवसरमा काठमाडौंको ठमेल, बौद्ध, ललितपुर, भक्तपुर, पोखरा लगायत स्थानमा विशेष रौनक छ । क्रिसमस ट्रीलगायतले बजार र ठूला व्यापारिकस्थल सजाइएको छ ।
नेपालमा चार सय वर्ष अघिबाट क्रिसमस मनाउन थालिएको राष्ट्रिय ख्रीष्टियन महासंघका पदाधिकारीहरु बताउँछन् । दुई हजार वर्षअघि जेरुसेलमको बेथलेहममा कन्या मारियमको कोखबाट येशुको जन्म भएको मानिन्छ । येशुलाई जिसस क्राइस्ट पनि भनिन्छ । उनले मानव समुदायका लागि पुर्याएको योगदानको सम्झनामा इस्वी संवत् चलाइएको विश्वास गरिन्छ ।
विक्रम संवत् ०६२र६३ को ऐतिहासिक परिवर्तनले संघीय लोकतान्त्रिक गणतन्त्र, धर्म निरपेक्षता घोषणा गर्नुका साथै राज्यले ख्रीष्टमस पर्वलाई येशु ख्रीष्टको शुभ जन्मदिवसका रुपमा मान्यता दिएको छ । सरकारले पुस १० लाई राष्ट्रिय पर्वको मान्यता प्रदान गर्दै सार्वजनिक विदा घोषणा गरेको छ ।
नेपाल धर्मनिरपेक्ष हुनुअघि देशभर छरिएर रहेका ख्रीष्टियन समुदायले क्रिसमस पर्वलाई विशेषगरी विभिन्न मण्डली चर्च र ख्रीष्टियन संघसंस्थाभित्र नै मनाउँदै आएका थिए । हाल नेपालभर १२ हजारभन्दा बढी चर्च र ३० लाखभन्दा बढी ख्रीष्टियन समुदाय रहेको अनुमान छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।