संविधानलाई संस्थागत गर्न सवै लाग्नुपर्छ ः अध्यक्ष सुवेदी



ओमप्रकाश गुप्ता , सिसहनियाँ ३ असोज । राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीले लोकतान्त्रिक गणतन्त्रात्मक संविधानलाई संस्थागत गर्न सवै लाग्नुपर्ने बताएका छन् । संविधान दिवस (राष्ट्रिय दिवस) हर्षोल्लासका साथ मनाऔं, घर घरमा राष्ट्रिय झण्डा फहराऔं’ भन्ने मुल नाराका साथ संविधान दिवश २०७७ को अवसरमा राप्ती गाउँपालिकाले शनिवार गाउँपालिकामा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष सुवेदीले सो कुरा बताएका हुन् ।

उनले संविधान संस्थागत गरियो र संस्था बलियो भयो भने मात्र देश बलियो हुने बताए । अध्यक्ष सुवेदीले संविधानको क्रियाशिलता र संविधानले दिएको हक अधिकारका बारेमा सोच्नु पर्ने पनि बताए । साथै उनले संविधानले दिएको हक अधिकारलाई प्रयोग गर्दै स्थानीय सरकारले दिने सेवा सुविधामा पारदर्शी रहने भन्दै संविधान दिवसको सम्पुर्ण नेपालीहरुमा शुभकामना समेत दिएका छन् । गाउँपालिकाका अध्यक्ष सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने अन्य वक्ताहरुले नेपालको संविधानको मर्म अनुसार हक अधिकारको प्रत्याभुती दिलाउनका लागि काम गरिरहेको र त्यसका लागि सवै तहबाट साथ सहयोग आवश्यक रहेको बताएका छन् ।

उनीहरुले गाउँपालिकाले बनाएको कानुनलाई कार्यान्वयन गर्न कर्मचारीको प्रमुख दायित्व रहेको पनि बताए । साथै स्थानीयतहले बनाएको कानुन बेलाबेलामा प्रदेश सरकार सँग बाझिने हुँदा संविधान संसोधन आवश्यक रहेको पनि बताएका थिए । कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष जगदम्बाकुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजाल, नेकपाका किरण भण्डारी, नेपाली कांग्रेसका दुर्योधन पाण्डे, राष्ट्रिय जनमोर्चाका केशवराज खनाल, गाउँपालिकाका प्रवक्ता विद्याशरण चौधरी, राप्ती उद्योग वाणिज्य संघ भालुवाङका अध्यक्ष जगतप्रसाद पोख्रेल, राप्ती सव डिभिजन वन कार्यालयका सहायक वन अधिकृत टंक गुरुङ, पत्रकार ओमप्रकाश गुप्ता लगायतका वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रमको सञ्चालन शिक्षा,युवा तथा खेलकुद शाखाका अधिकृत बासुदेव खनालले गरेका थिए । संविधान दिवसका अवसरमा आयोजित कर्मचारी बिच भएको मैत्रीपुर्ण व्याटमिन्टन प्रतियोगिताको असोज ४ गते समापन हुने र आकर्षक पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजालले जानकारी दिएका छन् । प्रतियोगीतामा १६ टिमको सहभागीता रहेको छ । यस्तै राप्ती गाउँपालिकाले असोजको २ गते देखी ४ गते सम्म घरघरमा दीप प्रज्वलन गर्न र राष्ट्रिय झण्डा फहराउन सबैमा अनुरोध समेत गरेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्