ओमप्रकाश गुप्ता, दाङ ३ असोज । संविधान दिवसको अवसरमा दाङबाट १७ जना कैदीबन्दी रिहा भएका छन् । दिवसको जिल्लाको घोराही कारागारबाट ११ जना र तुलसीपुर कारागारबाट ६ जना कैदी बन्दी रिहा भएका हुन् ।
असल आचरण भएका, नकारात्मक सुचीमा नपरेका र ५० प्रतिशत कैद भुक्तान गरिसकेका कैदीबन्दी छुटेको तुलसीपुर कारागारका जेलर युवराज परियारले जानकारी दिए ।
तुलसीपुर कारागारबाट सवारी ज्यान मुद्धाका २ जना, डाँका चोरी मुद्धाका १ र नकावजनी चोरी मुद्धाका ३ जना कैदी बन्दी रिहा भएको बताए । तुलसीपुर कारागारमा अहिले ४ सय ५७ कैदीबन्दी मध्ये ६ जना आज रिहा भएको जेलर परियारले जानकारी दिए ।
अब तुलसीपुर कारागारमा ४५१ ज्ना कैदीबन्दीले कैद भुक्तान गरिरहेका छन् । उनीहरु मध्ये २६ जना महिला रहेका छन् भने २ जना आश्रित बालबालिका रहेका छन् । उता घोराही कारागारमा २ सय ८७ जना कैदीबन्दी मध्ये ११ जना आज संविधान दिवसको अवसरमा छुटेको कारागारका जेलर बिष्णुप्रसाद पाण्डेले जानकारी दिए । ठगी, कर्तव्य ज्यान, हातहतियार खरखजना सम्बन्धिका कैदीबन्दी छुटेको उनले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।