म्याग्दीका बानियाँको ‘महारानी’ले पायो मदन पुरस्कार



काठमाडौं । एक राजनीतिकर्मीले लेखेको ‘महारानी’ उपन्यासमा तत्कालीन बाइसेचौबीसे राज्यकालमा साना राज्यबीचमा हुने पारस्परिक खिचातानी, जालझेलबाट पार पाउनका लागि राजा–रजौटाले अपनाउने कुटनीति र चालबाजी लगायत ऐतिहासिक विषयवस्तु समेटिएको छ ।

राजनीतिकर्मी चन्द्रप्रकाश बानियाँको ऐतिहासिक राजनीतिक विषयवस्तुको उपन्यासले नै गत वर्षको मदन पुरस्कार जितेको आज घोषणा गरिएको छ । म्याग्दी जिल्लाबाट निर्वाचित पूर्वसांसद चन्द्रप्रकाश बानियाँकृत सो उपन्यासमा पितृसत्तात्मक सामन्ती व्यवस्थाको संरचनामामा महिलालाई वस्तुकरण गरिएको सन्दर्भलाई समेत उठान गरिएको छ । ‘महारानी’मा मुख्य नायिकाको कारुणिक र संवेदनशील अवस्थाको चित्रण गरिएको छ ।

तत्कालीन राजनीतिक खिचातानी र स्वार्थमा महिलाको शरीरसमेत संवेदनहीन भई उपयोग गरिन्थ्यो भन्ने समयविम्ब समेत समेटिएको म्याग्दी बहुमुखी क्याम्पसका उपप्रध्यापक रेखाकौशल रेग्मीले बताए ।
उनले ऐतिहासिक पक्षको अन्वेषण र उजागर गर्ने कृतिकारको अथक साधनालाई मदन पुरकार प्रदान गर्ने घोषणाले न्याय गरेको टिप्पणी पनि गरे ।

‘‘धौलागिरि क्षेत्रकै साहित्यले गर्व गर्ने दिन बनेको छ, खोज र अनुसन्धानात्मकताले नै कृति योग्य ठहरिएको हुनुपर्छ’’, उनले भने । बेनी नगरपालिका–५ पुला भीरमुनि घर भई साहित्यिक र म्याग्दीको खोजमूलक लेखनमा सक्रिय बानियाँले प्राप्त गरेको पुरस्कार जिल्लाबाटै प्राप्त अहिलेसम्मकै उच्चतहको पुरस्कारका रुपमा हेरिएको छ ।

दर्जनाँं पुस्तक प्रकाशन गरिसेका बानियाँ कथा, उपन्यासलगायत रचनासँगै स्तम्भ र समसामयिक विषयमा कलम चलाउँदै निरन्तर क्रियाशील छन् । उनले यसअघि प्रकाशन गरेका ऐतिहासिक पर्वत राज्य र मृत्यु संस्कार मन्थन पुस्तक निकै लोकप्रिय मानिन्छन् । बानियाँको ‘भौँज्याहा’ पुस्तक प्रकाशनको तयारीमा छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्