पुरानै प्रतिनिधिबाट महाधिवेशन गर्न वरिष्ठ नेता पौडेलको प्रस्ताव



असोज ५, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले १३औं महाधिवेशनमा कायम प्रतिनिधिबाटै आगामी १४औं महाधिवेशन गर्न सकिने प्रस्ताव अघि सारेका छन् ।

क्रियाशील सदस्यता वितरण र नवीकरणको म्याद सुरु नहुँदै प्रभावित भएपछि वरिष्ठ नेता पौडेलले तोकिएकै मितिमा महाधिवेशन गर्न यस्तो प्रस्ताव अघि सारेका हुन् । पौडेलले सो प्रस्ताव केन्द्रीय समिति बैठकमा समेत लैजाने तयारी गरेका छन् ।

‘महाधिवेशन नहुने अवस्था सिर्जना हुँदै छ, म्याद सकिएपछि पार्टीमा को सभापति ? कसलाई मान्ने ? त्यो अवस्था आउन दिनुहुन्न । बरु १३औं महाधिवेशनकै प्रतिनिधि कायम गरेर भए पनि महाधिवेशन समयमा नै गरौं,’ कांग्रेस वरिष्ठ नेता पौडेलले आइतबार एक भर्चुअल कार्यक्रममा भने ।

पौडेलले विधि र विधानलाई बचाउन पनि निर्धारित मितिमा नै महाधिवेशन गरिनुपर्नेमा जोड दिए । उनले सभापति शेरबहादुर देउवा कुनै हालतमा तोकिएको मितिमा महाधिवेशन नगर्ने पक्षमा उभिएको बताए । ‘विधि र विधान बचाउन पनि निर्धारित मितिमा महाधिवेशन गरौं भन्ने मेरो चाहना हो तर सभापति नै निर्धारित मितिमा महाधिवेशन होस् भन्ने पक्षमा हुनुहुन्न,’ पौडेलले थपे ।

महाधिवेशन नगर्ने मनसायबाटै केही जिल्लामा पार्टीको संरचना समायोजन अड्काइएको र क्रियाशील सदस्यता फाराम पठाउनसमेत बखेडा झिकिएको पौडेलले आरोप लगाए ।

पौडेलले पछिल्लो समय विभिन्न विभागमा धमाधम मनोनीत भएकाहरू फागुनपछि कुन भूमिकामा रहने भन्ने प्रश्न पनि गरेका छन् । यो समाचार आजको राजधानी दैनिकमा महेश्वर गौतमले लेखेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्