तिनै पुरुष : कोहि अभीभावक अनि कोहि राक्षस जस्ता



काम बिशेषले बसुन्धराबाट नँयाबसपार्क सम्म जानु पर्ने थियो। दिउँसो करिब १ बजेको हुदो हो। कोरोनाको महामारीले गर्दा गाडी चढेर जानु भन्दा हिडेरै जानु उचित ठाने, सधैँ विनप्रुभ या आउटर लगाएर हिड्ने म घाम लागेकोले टि(सर्ट पाइन्ट लागाएर निस्किए,पुलिस पेट्रोलपम्प नेर पुगेकी थिए, कसैले मेरो अगाडी ल्याएर झ्याप्प मोटरसाइकल रोक्यो।

आफ्नै रफ्तारमा हिडिरहेकी म टक्क अडिएँ,उ अर्धबैंसे उमेरको देखिन्थ्यो, उसले सोध्यो ‘मित्रनगर जाने बाटो कता हो ?”  मैले उसलाई सहजै बाटो देखाइदिए अनि म साइड लागेर हिड्न खोजे, उसले रोक्दै भन्यो तपाइँ कहाँ सम्म निरु मैले भने यहीं पर्तिर सम्म हो। मेरो जवाफ सुनेपछि उसले आफुले पुर्याईदिने भन्दै बाइकमा बस्न आग्रह गर्यो, मैले हिडेरै जाने प्रतिबद्वता जाहेर गरे। उसले २/३ पटक आग्रह गरेपछि उसको मन राखिदिनकै लागि भए पनि म राजि भए। अफिसमा साधन खाली नभएको बेला रिपोर्टिङमा जादा अरु नचिनेकै मानिससँग लिफ्ट मागेर हिड्ने मलाई उ सग बसेर जानु कुनै नौलो कुरो ठानिन। फेरी कसैले सभ्य तरिकाले सहयोग गर्न पनि त चाहेको हुन्छ नि ।

उसले बाइक स्टार्ट गर्दा नै घच्याक्क पर्दै डिस्ब्रेक हान्यो, म जहिले पनि चिनेको होस् या नचिनेको आफ्नो परिवार भन्दा बाहिरको मन्निसको बाइकमा पछाडी बस्नुपर्दा जहिलेपनि पछाडिको स्टेयरिङ्ग (बाइक या स्कुटरको बस्ने सीटको सबैभन्दा पछाडी अलिकति उठेको रेलिङ्ग बिशेष गरि सामान बाध्न प्रयोग हुन्छ, ठ्याकै नाम आएन) समातेर हिड्छु। त्यसकारण मलाई केहि असर परेन। हिड्ने बित्तिकै उसले तपाईलाई कतै कतै देखे झैँ लाग्यो भन्दै कुरा सुरु गर्यो। धेरैजसो केटाहरुको केटिसँग नजिकिने एउटा वाहाना हो यो तर पनि टेलिभिजन युट्युब या त रिपोर्टिंगमा जादा देखेको पनि हुन सक्छ भनेर होला सायद भन्ने जवाफ फर्काएं।

उसले मेरो कामको बारेमा सोध्यो सहजै बताइदिए। उसले पत्रकारिताको बारेमा नबुझे झैँ गर्यो,बुझाउनु आवस्यक ठानेर बुझाए पनि। त्यसपछि उसले भन्यो मेरो बारेमा सोध्दिनौँ ? तापाइको साईनो अब तिमीमा झरिसकेको थियो,मैले भने ‘ठिकै छ जानौला नि बिस्तारै,जे चिज आवस्यक छ त्यसको बारेमा मात्र सोधीखोजी गर्ने हो’ उसले केहि पर्यो भने भन्नुहोला भन्यो अनि हुन्छ भनेर जवाफ दिए। उसले आफुले पनि काम पर्यो भने फोन गर्ने भन्यो र मेरो मोबाइल नम्बर माग्यो,मलाइ त्यो मान्छेको चालामाला ठिक लागेको त थिएन, त्यै पनि उसको थप कुरा नआवस भनेर नम्बर दिए। आखिर कति ठाउमा म आफैले नम्बर पनि त दिएको हुन्छु नि, यसलाई पनि महाभारत ठानिन।

मैले उसको बारेमा केहि सोधेकी छैन र पनि उसले सुरु गर्यो आफ्नो बयान, ‘एक्च्युयल्लि म चाहिँ नेपाल कहिलेकाहिँ मात्रै बस्छु तर आउने जाने भईरहन्छ,अहिले पनि सोल्ठी होटलमा बस्छु,बिजनेसले आउने जाने भईरहन्छ।तिमीलाई केहि अप्ठ्यारो छ भने भन’ मैले भने ‘छैन केही अप्ठ्यारो’, फेरी उसले सुरु गर्यो, छ भने भन अहिले अलिकति पैसा राख पचास हजार जति अप्ठ्यारो मान्नु पर्दैन भन्दै बाइक साइड लगाएर रोक्न खोज्यो।

म एकछिन त ट्वाँ परे। तिन दिन भोकै बस्नु परे पनि कसैसँग सापटी सम्म त नमाग्ने म त्यो हेर्दै केटि दलाल जस्तो देखिने अन्जानको मानिससँग बिना पारिश्रमिक कसरि पचास हजार लिन सक्छु र। म एकछिन मौन बसेको देखेर बाइक साइड लगाए पनि रोक्न चाहिँ रोकेन। ‘त्यस्तो अप्ठ्यारो मान्नु पर्दैन राख न किन अड मानेको ?’ अनि अलि स्लो गर्दै उसले फेरी यो शब्द दोहोर्यायो। मैले भने ‘हैन पर्दैन ऐले त्यस्तो समस्या छैन मा सँगै छ पैसा आवस्यक पर्यो भने भनौला नि।’

एकमनले त सोचे यसबाट पैसा लिएर खान नपाएका गरिब, मजदुरहरुको भोको पेट किन नभरौँ तर फेरी विचरा ति इमान्दारी र सोझा गरिबहरुको त्यस्तो कालो धनले पेट भर्न मेरो नैतिकताले कसरि दिन्थ्यो र ! सुरुदेखि नै ठिक नलागेको त्यो मान्छेले अब चाहिँ के गर्दो रैछ भनेर अझ जान्न मन भयो । मैले पैसा लिन सोझै इन्कार गरेपछि उसले प्रसङ्ग बदल्यो अनि मेरो शारीरिक बनावटको बयान गर्न थाल्यो। तिमीलाई अघि परैबाट देख्दा नै क्या राम्री लाग्यो कति मिलेको ज्यान कति पर बसेकी अलि वर बसन किन अप्ठ्यारो मान्छौ आदि यस्तै यस्तै,उसले मेरो बारे गरेको बयानमा हो मा हो मिलाउदै बेलाबेला थ्याङ्क्यु भन्दै सुनी रहे। त्यस्तो गिद्वे आखै गाड्नुपर्ने खालको त ड्रेसअप थिएन त नर्मल टि-सर्ट पाइन्टमा थिए त्यो पनि त्यस्तो टाइट खालको थिएन। यदि म हतारमा नभएको मात्रै भए पनि त्यो सँग मस्किए झैँ गरेर का सम्म लान्थ्यो जान मन थियो, अझ नैतिकताले दिएको भए त त्यसलाई मुर्गा बनाएर पठाउन मन थियो तर त्यसो गरिन।

मेरो अनावस्यक बयान गर्दै गंगबु बसपार्कपुल नेर पुगियो, साइड लगाएर रोक्न अनुरोध गरे मैले,हुइकाएर लगेर बाइक मित्रनगर जाने बाटो अगाडी रोक्यो,उसले मलाइ करिब सात मिनेटमा गरेको ब्यबहार हेर्दा बाटो थाहा नभएर सोधेको हो जस्तो लागेन मलाइ, अझ का पुग्नु पर्ने म रूम सम्मै पुर्याइदिन्छु भन्छ बा ! यदि मेरो ठाउँमा कुनै बुढी आमा बुढा बा अर्थात अलि अशक्त जो सुकै भए पनि अगि नै नदेखेझैँ गरेर हिड्थ्यो होला।

मैले हैन पर्दैन नजिकै छ जान्छु भनेर म बाइकबाट ओर्लिए अनि धन्यवाद दिँदै हिड्न खोजे। फेरी उसले रोक्दै भन्यो एकछिन अगाडी आउ त ! अनि मैले भने किन केहि काम छ र सर रु उसले भन्यो तिमिसँग रातभरि फ्री भएर कुरा गर्न मिल्छरु उसको अघिदेखिको व्यवहार सम्झिदा रिस उठेको अब चाहिँ बेस्सरी हासो उठ्यो,यसले के चाहिं सोचेर पाँचरसात मिनेटको यात्रामा यत्रो थरि भन्न भ्यायो होला भनेर। त्यै पनि सम्हालिदै भने मिल्दैन, काम परे दिउँसो गर्नुहोला। अनि इट्स ओके भन्दै फेरी अगाडी आउन भन्न थाल्यो। भर्खर बाइकबाट ओर्लिएको मान्छे त्यसकै अगाडी जान म काँ न पछाडी थिए र ?

म त्यहाँ अगाडी आउनै पर्ने के छ र रु मेरो स्वर अलि ठुलो भयो ,उसले मा माथि गिद्वे नजर राखेको छ भन्ने त अघिनै थाहा पाएकी थिएँ तर अति नै गरेपछि अलि ठुलो स्वर गरे। लागेको थियो गाला फुट्ने गरि दिउँ, यस भन्दा पहिले दुर्व्यवहार गर्ने धेरैलाई चड्काएकि थिएँ तर यस पटक भने छाडिदिए अलि हतारमै भएर होला होस् भन्ने मनमा आयो। अब फेरी उसको गिद्वे नजर म माथि गाडियो अनि भन्न थाल्यो तिमि त क्या सेक्सी है म सँग होटलमा जान्छौ ? अघि सम्म राम्री र जिउडाल मिलेको मात्रै लागेकी म अब त सेक्सी नै पो लागेछु त १ बरु आफैँले लिफ्ट मागेर हिडेको बेलामा भने अहिलसम्म कसैले पनि दुर्ब्यबहार गरेनन्।अब चाहिं रिसको कन्पारो टुप्पीमै पुग्यो मेरो अनि नजिकै गएर मुख नै छाडेर भने के भनिस रे ! फेरी एकचोटी मात्रै भनेर देखा त !, भन्न मात्र हैन कठालो सामाउन लागेकी थिएँ तर एक पटक पनि फर्केर नहेरी बाइक घुमायो र आफ्नो बाटो लाग्यो म पनि आफ्नो गन्तव्यतिर लागे।

यति सात मिनेटको समयमा त यत्रो दुर्व्यवहार हुन्छ भने झन् हरेक घण्टा,हरेक दिन, हरेक महिना, हरेक वर्ष, हरेक दशक अनि हरेक सताब्दिमा कति दुर्व्यवहार हुन्छ होला गनेर साध्य छैन। तर सबै पुरुष यस्तै निच स्वाभाब भएका भने हुदैनन् कतिले त अभिभावक भन्दा पनि राम्रो भूमिका निभाएका छन् ,खास भन्नु पर्दा म यहा सम्म आइपुगेको नै पुरुषहरुको हिम्मत आत्माबल अलि सफलताबाट प्रभावित भएर हो।

प्रभावित मात्रै हैन उनीहरुले दिने हौसला अनि साथ सहयोग पनि मेरो सफलतामा उत्तिकै बलवान छन्। धेरै जसो क्षेत्रमा महिला भन्दा पुरुष नै उच्च स्थानमा छन्। उनीहरुको प्रगति र इमान्दारीपुर्वक काम गर्ने सैलीबाट प्रभावित भएर होला उच्च ओहदाका महिला भन्दा पुरुष नै नजिक छन् म सँग, उनीहरुले मलाइ दिने सल्लाह सुझाब अनि हौसला यति महँगा छन् कि जुन अरबौंमा किन्छु भन्दा पनि पाइन्न्न सलाम छ ति महान पुरुषहरुलाई ।

आखिर तिनै पुरुष कोहि अभीभावक अनि कोहि चाहिँ राक्षस जस्ता किन होला है ?

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्