करणीका फरार अभियुक्त १२ वर्षपछि पक्राउ



इलाममा जबर्जस्ती करणी गरी फरार रहेका दुई अभियुक्त १२ वर्षपछि पक्राउ परेका छन् । इलाम प्रहरीले चुलाचुली–३ का ३० वर्षीय मिलन भनिने अनिश राई र ३१ वर्षीय जितकुमार भनिने निश्चल राईलाई पक्राउ गरेको हो । फैसला कार्यान्वयन प्रक्रियालाई तीव्रता दिने अभियानअन्तर्गत अदालतबाट दोषी प्रमाणित भई फरार रहेका दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।

विसं २०६४ मा झापा साधुहोली जङ्गलमा सामूहिकरूपमा जबर्जस्ती करणी गरी फरार रहेका इलामका उनीहरुलाई विशेष खोजी अभियान नै सञ्चालन गरेर पक्राउ गरिएको इलामका प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए । उनका अनुसार दुवैलाई २०६७ फागुन ११ गते जिल्ला अदालतबाट ११ वर्ष एक महिना १५ दिन कैद र जनही २१ हजार जरिवाना तोकिएको थियो ।

दुवैलाई जिल्ला अदालतमा पेश गरेकोमा कैद भुक्तानका लागि सोमबार कारागार कार्यालय इलाममा पठाइएको प्रहरीले जनाएको छ । उक्त मुद्दामा एक जना हाल जिल्ला कारागार इलाममा कैद भुक्तान गरिरहेका छन् । एक जना अझै फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्