जनप्रतिनिधिलाई लाग्यो बाढीपीडितको पैसा खाएको आरोप



सुनसरीको इनरुवा–१० जल्पापुरका बासिन्दाले बाढी र शितलहर पीडितको नाममा आएको रकम स्थानीय जनप्रतिनिधिले हिनामिना गरेको आरोप लगाएका छन् । आर्थिक वर्ष २०७४/०७५ मा जल्पापुरका बाढी र शितलहर पीडितको राहत वितरणका लागि जिल्ला प्रशासन कार्यालय सुनसरी मार्फत ७ लाख ५० हजार आएको थियो ।

राहतबापत आएको रकम प्रतिपरिवार २५ हजारका दरले वितरण गरिनुपर्नेमा स्थानीय जनप्रतिनिधिले जान्ने सुन्नेका हकमा मात्र तोकिए बमोजिमको रकम बाँडेको र अधिकांश पीडितलाई नदिएर रकम हिनामिना गरेको आरोप उनीहरुले लगाएका हुन् ।

इनरुवा–१० जल्पापुरका ३० परिवारको राहत वितरणका लागि आएको ७ लाख ५० हजारमध्ये जान्ने सुन्नेमध्ये केहीलाई प्रतिपरिवार १० हजारदेखि २० हजारसम्म रकम बाँडेको भएपनि अधिकाशं पीडितलाई त्यसबापतको रकम नदिएको गुनासो पीडितको छ ।

आफ्नो नाममा २५ हजार निकासा भएको भनिएपनि त्यो रकम आफूले नपाएको र आफ्नो नाममा किर्ते हस्ताक्षर गरेर वडाका जनप्रतिनिधिले नै सो रकम निकासा गरेको हुन सक्ने पीडित ताहिर मियाँले बताए ।

त्यसैगरी अर्का पीडित मुस्तकिम मियाँले पनि आफ्नो नाममा किर्ते सही गरेर वडाका जनप्रतिनिधिले २५ हजार निकासा गरेर हिनामिना गरेको आरोप लगाएका छन् । बाढी आएका बेला वडा कार्यालयबाट पीडितलाई च्यूरा, भुजाबाहेक कुनै किसिमको नगद रकम वितरण नभएको इनरुवा–१० का महिला सदस्य सतियादेवी खत्वेले बताइन् ।

अर्का वडा सदस्य ताविर मियाँले बाढीका बेला पीडित भएकाहरुको नाममा आएको राहत रकमको विषयमा आफूलाई कुनै जानकारी नभएको र वडा कार्यालयबाट च्यूरा, भुजाबाहेक नगद रकम वितरण नभएको जानकारी दिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्