ओमप्रकाश गुप्ता – शिबराज पन्थी, गढवा । कोरोना भाइरस कोभिड–१९ का कारण बिद्यार्थीहरुको पढाई चौपट भएपछि गढवा गाउँपालिकाका सबैजसो सामुदायिक बिद्यालयहरुले गाउँ–गाउँमा शिक्षक पठाएर टोल–टोलमा पढाई सुरु गरेका छन् । गत भदौ ३१ का दिन गाउँपालिकाको शिक्षाशाखाले सबै समुदायिक बिद्यालयका प्रधानाध्यापकहरुलाई एकै थलोमा जुटाएर सामुहिक बैठकको निर्णय बमोजिम यस्तो अभ्यासको सुरुवात गरेको गढवा गाउँपालिका शिक्षाशाखाका प्रमुख श्याम बि.क.ले जानकारी दिनुभयो । उहाँका अनुसार गढवा गाउँपालिकाका कुल २९ वटै बिद्यालयहरुले यस्तो अभियानका साथ पठन–पाठन संचालन गर्न थालेका छन् ।
गढवाको जनता माबिले ९ वटा केन्द्र बनाएर सबै तहका शिक्षकहरु परिचालन गरि ४ घण्टा पढाई संचालन गरेको बिद्यालयका प्रधानाध्यापक रामसुरत यादवले जानकारी दिएका छन् । जस अनुसार कान्छीगाउँ, मनिकापुर, प्रनाहा, कुमालगाउँ, क्याम्पसडाँडा, चन्दनपुर, मानपुर, आँटीपाकर, घोराहा, बालाखुटी चौर गरि ९ वटा केन्द्रमा पढाई संचालन गरेको पाइएको छ । त्यस्तै जनता माबि कालाकाटेले जुरौनी बालउद्यान,कालाकाटे र वनबारी गरि ३ वटा केन्द्रहरु बनाएर पढाई संचालन गरेको प्रधानाध्यापक मुक्तिप्रसाद शर्माले जानकारी दिएका छन् । शिक्षकहरुलाई वार अनुसार रोटेशन गराई पठन–पाठन संञ्चालन गरिएको र उत्साहपुर्वक बिद्यार्थीहरु आइरहेको उनले बताए । यसै गरि सरस्वती माध्यमिक बिद्यालय गोबरडिहाले कुल ५ वटा केन्द्र र केन्द्र अन्तर्गत थप उपकेन्द्रहरु समेत बनाएर बिद्यार्थीहरुलाई पढाइरहेको सो बिद्यालयका प्रअ सुर्यप्रकाश बर्माले जानकारी दिएका छन् । त्यस्तै दिपेन्द्र होमजुन माबि पर्सेनीले पनि बिद्यालय नजिकैको चौतारो,पर्सा र परस्पुरमा केन्द्र बनाएर बिद्यार्थीहरु पढाई रहेको प्रअ लालबहादुर भण्डारीले बताएका छन् । यता माबि चैनपुरले मगहर,चैनपुर,लोखरपुर र लालपुर गरि ४ वटा केन्द्रमा पढाउन सुरु गरेको प्रअ बिष्णुप्रसाद कुमाल चौधरीले जानकारी दिएका छन् ।
माध्यमिक बिद्यालयहरुले मात्र होइन प्राबि र आधारभूत बिद्यालयहरुले पनि यहि तरिकाबाट गाउँगाउँमा शिक्षक पठाएर टोल–टोलमा पढाई सुरु गरेको पाइएको छ । गढवाको बालकल्याण आधारभूत बिद्यालय र मनिकापुर स्थित दुर्गा आधारभूत बिद्यालय लगायत अन्य बिद्यालयहरुले पनि यसरी नै बिद्यार्थीहरुको पठन–पाटन संचालन गर्नथालेको पाइएको हो । दुर्गा आधारभूत बिद्यालयले ९ वटा केन्द्रमा पढाइ संचालन गरेको छ । जसमध्ये मदपुर, मनिकापुर, सिमलखुटी, लाहुरेटोल, अत्तरबेदुवा, दंगालटोल, हुलाकि टोल र बनघुस्री लगायतबका गाउँहरुमा शिक्षकहरु खटाएर पढाई संचालन गरेको प्रअ मन्सराम चौधरीले जानकारी दिएका छन् ।
यसै बिच मंगलबार गढवा गाउँपालिकाको शिक्षा शाखाले गाउँ गाउँमा हुन थालेको पठन पाठनको स्थलगत अनुगमन गरेको छ । अनुगमनको क्रममा बिद्यार्थीहरु पढ्नका लागि आत्तिएकोले पनि जाँगरका साथ उपस्थित हुने गरेको पाइएको शिक्षा शाखाले जनाएको छ । सो क्रममा सामाजिक दुरी कायम गरि मास्क लगायतका स्वास्थ्य सुरक्षा सामाग्री प्रयोग गरेर आउन बिद्यार्थीहरुलाई निर्देशन दिएको शिक्षा शाखाले जनाएको छ । गाउँटोलमा रोटेशन बनाएर पढाउने काम शिक्षकहरुका लागि बढ्ता जोखिम हुने र पढाई पनि प्रभावकारी नहुने भएकोले जोड बिजोड वा प्रावि,आधारभूत र माबि स्तरलाई फरक फरक दिनको रोटेशन बनाएर पढाउन थप उपयोगि हुने भएको कतिपय शिक्षकहरुको धारणा रहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।