आज ४१औं विश्व पर्यटन दिवस : ‘दिगो विकासका निम्ति ग्रामीण पर्यटन’ भन्ने मूल नाराका साथ मनाइदै



काठमाडौं /११ असोज।
आज ‘४१औं विश्व पर्यटन दिवस’, यस वर्ष ‘दिगो विकासका निम्ति ग्रामीण पर्यटन’ भन्ने मूल नाराका साथ देशैभर विभिन्न कार्यक्रम गरी पर्यटन दिवस मनाईदैछ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पर्यटन दिवसको अवसरमा काठमडौंको चोभार स्थित मन्जुश्री पार्क पुगेर वृक्षारोपण गरे ।

मन्त्री भट्टराईले कोभिड १९ का कारण अर्थतन्त्रमा नराम्रोसँग धक्का परेको अवस्थामा पर्यटनको क्षेत्रबाट अर्थतन्त्रलाई उठाउन सकिने बताए ।

कोभिडका कारण देशको आम्दानीका स्रोतहरु घटेको अवस्थामा राज्यले मानिसको स्वास्थ्यलाई जोगाउन पहिलो प्राथमिकता दिएपनि पर्यटन क्षेत्रको विकासका लागि पनि विभिन्न कार्यक्रम ल्याउने बताए ।

राज्यको आम्दानीको स्रोतको विकास गर्नका लागि उपत्यका वरिपरिका डाँडाँहरुलाई घुम्न जाने नजिकको गन्तव्यको रुपमा विकास गरिने उनले बताए ।

चोभारलाई पनि त्यसै कार्यक्रमसँग जोडेर विकास गरिने मन्त्री भट्टराईले उल्लेख गरे ।

मन्जुश्री पार्कसँगसँगै उपत्यका वरिपरिका पहाडहरुलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न सकेमा उपत्यकाको रात्रीकालिन जीवनको पनि सुरुवात हुने मन्त्री भट्टराईको भनाई छ ।

उनले अबको पर्यटन ग्रामीण पर्यटन माथि केन्द्रीत हुनुपर्ने पनि धारणा राखे । ग्रामीण पर्यटनको विकासमा काम गर्न सके ग्रामीण क्षेत्रका मानिसहरुको आर्थिक जीवनमा समेत परिवर्तन ल्याउन सकिने विश्वास मन्त्री भट्टराईको छ ।

कोरोना संक्रमणका कारण देशभर रहेका होटल र अन्य पर्यटकीय क्षेत्रका व्यवसाय ६ महिनायता ठप्प छन् ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्