चितवन /१२ असोज।
बाघको आक्रमणबाट आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका–६ का ५५ वर्षीय बबना चौधरी छन् ।
चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अशोक रामका अनुसार स्थानीय कुमरोज मध्यवर्ती सामुदायिक वनभित्र हात्ती चराउन जाँदा बाघले आक्रमण गरेको हो ।
हात्ती चराउँदै घाँस काट्ने क्रममा बाघले आक्रमण गरेको जनाइएको छ । जरायो मारेर शिकार गरिरहेको अवस्थामा उनी घाँस काट्न त्यहाँ पुगेपछि बाघले आक्रमण गरेको रामले जानकारी दिए ।
बिहान १०ः२५ बजेको समयमा घटना भएको सूचना प्राप्त भएपछि सो क्षेत्रमा प्रहरी परिचालन गरिएको इलाका प्रहरी कार्यालय खैरहनीले जनाएको छ ।
मृतकको शव घटनास्थल नजिकै फेला परेको प्रहरीले जनाएको छ । यसअघि गत शनिबार पश्चिम चितवनमा पनि बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।