मोरङ/१२ असोज।
जबरजस्ती करणी प्रयास गरी फरार भएको आरोपमा दुई जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय मोरङले तीन जना महिलामाथि बलात्कार प्रयास आरोपमा विराटनगर महानगरपालिका-८ बस्ने २० वर्षीय मोहमद सहिद मिया र २५ वर्षीय मोहमद असलम मियालाई पक्राउ गरेको हो। उनीहरूलाई प्रहरीले आइतबार साँझ ६ बजे सोही वडाको सुकुम्बासी टोलबाट पक्राउ गरेको थियो।
२०७६ मंसिर ५ गते राति नौ बजे मोहमद सहिद मिया, मोहमद असलम मिया, २२ वर्षीय मोहमद फारूक मिया र २० वर्षीय मोहमद हसरत मियाले तीन महिलामाथि बलात्कार प्रयास गरेका थिए।
उनीहरूले मोरङकी ३३ वर्षीया, २२ वर्षीया र २७ वर्षीया महिलामाथि अशोक चोकमा जबरजस्ती करणी प्रयास गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) मानबहादुर राईले जानकारी दिए।
‘उनीहरूबीच चिनजान भएको देखिन्छ। उनीहरूमध्ये भर्खर दुई जना पक्राउ परेका छन्,’उनले भने,’के कस्तो हो भन्ने अनुसन्धान पछिमात्रै थाहा हुन्छ।’
उनीहरूले हातहतियार देखाई करणी प्रयास गरेको डिएसपी राईले बताए। घटनामा संलग्न अन्य दुई जना अझै फरार छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।