अखिल क्रान्तिकारीका नेता शर्मा बने वडा अध्यक्षका उम्मेदवार



parbin-sharma-625x405
भूपेन्द्र वली
दाङ,जेठ २३ अखिल क्रान्तिकारीका केन्द्रीय सचिवालय सदस्य प्रवीण शर्मा घोराही उपमहानगरपालिका–१५ बाट उम्मेदवार बनेका छन् । उनी डेढ दशकदेखि विद्यार्थी राजनीतिमा सक्रिय छन् । उनी महेन्द्र बहुमुखी क्याम्पसबाट ०६५ सालमा वामपन्थी प्यानलसहित सभापतिमा निर्वाचित भएका थिए । शर्माको प्रतिस्पर्धीका रूपमा नेपाल विद्यार्थी संघका नेता रमेश पाण्डेले यही वडाबाट उम्मेदवारी दिएका छन् । घोराही उपमहानगरपालिकाको केन्द्र वडा नम्बर १५ मा विद्यार्थी राजनीतिबाट आएका पाण्डे र शर्माबीच प्रतिस्पर्धा हुने स्थानीयको भनाइ छ । पार्टी र संगठनको प्रतिबद्ध मतका साथै व्यक्तिगत प्रभावको मतले उनीहरूको प्रतिस्पर्धा रोचक हुने नगरवासीको अनुमान छ ।
‘यस वडामा मात्रै १५ सय जति युवा मतदाता छन्,’ नेता शर्माले भने, ‘मलाई युवा पुस्ताले स्ववियु निर्वाचनमै मन पराएका हुन् । अहिले पनि साथ दिनेमा ढुक्क छु ।’ यस्तै पाण्डे पनि विद्यार्थी संगठनको तल्लो कमिटीदेखि लामो समय युवासँग सहकार्य गरेको बताउँछन् । उनी भन्छन्, ‘युवाको रोजाइमा पर्नेमा ढुक्क छु ।’ यसबाहेक जिल्लाका अन्य तहमा पनि विद्यार्थी राजनीतिबाट आएका युवा नेताले उम्मेदवारी दिएका छन् । पार्टीको प्राथमिकतामा पनि युवा र बौद्धिक उम्मेदवार रोजाइमा परेको कांग्रेस दाङका सचिव शंकर डाँगीले बताए । डाँगीले युवालाई राजनीतिमा प्रोत्साहन गर्न स्थानीय तह निर्वाचनमा पनि प्राथमिकताका साथ विद्यार्थी नेतालाई उम्मेदवार बनाइएको बताए । ‘युवाहरूलाई राजनीतिमा प्रोत्साहन गर्न आवश्यक छ,’ उनले भने, ‘त्यसमा पनि विद्यार्थी राजनीति गरेर आएकाहरू सचेत र बौद्धिक हुने भएकाले जित्ने मात्र नभई जितेपछि पनि समृद्धिका लागि काम गर्ने आशा छ ।’

दलहरूको रोजाइमा युवा नेता
सबैजसो दलले स्थानीय निर्वाचनमा उम्मेदवार छनोट गर्दा युवा नेतालाई समेट्ने प्रयास गरेका छन् । लामो समय विद्यार्थी राजनीति गरेका अनेरास्ववियुका पूर्वअध्यक्ष विष्णु केसी एमालेबाट शान्तिनगर गाउँपालिकाको अध्यक्षमा प्रतिस्पर्धा गर्दै छन् । युवा मतलाई समेट्न विद्यार्थी राजनीतिबाट आएका नेतालाई सहज हुने दलहरूको बुझाइ छ । ‘युवा युगको माग हो,’ माओवादी केन्द्र दाङका नेता हेमराज शर्माले भने, ‘विद्यार्थी नेता युवा मात्र नभई सचेत पनि छन् । समय परिस्थितिलाई बुझेर अगाडि बढ्ने आशाका साथ उम्मेदवार बनाएका छौंँ ।’ यद्यपि, सबै दलसँग जिल्लामा कति विद्यार्थी नेता र युवा नेतालाई उम्मेदवार बनाइयो भन्ने यकिन तथ्यांक भने छैन ।

दलका एजेन्डाः सर्वसुलभ शिक्षा
उम्मेदवार बनेका विद्यार्थी नेताहरूले समय सुहाउँदो विषयलाई सम्बोधन गर्ने गरी निर्वाचनको एजेन्डा बनाएका छन् । माओवादी केन्द्रबाट घोराही–१५ का उम्मेदवार प्रवीण शर्माले निर्वाचन जिते निःशुल्क शिक्षा, शिक्षामा सबैको पहँुच र सरकारी विद्यालयमा पनि निजीसरह गुणस्तर दिने एजेन्डा अघि सारेका छन् । यस्तै सोही वडामा कांग्रेसका उम्मेदवार पाण्डेले पनि शिक्षालाई सर्वसुलभ र समान शिक्षा लागू गर्ने एजेन्डा अघि सारेका छन् । ‘शिक्षासँग सम्बन्धित भएर लामो समय राजनीति गरेकाले शैक्षिक क्षेत्रको समानुपातिक रूपान्तरण प्रमुख एजेन्डा हो,’ उनले भने, ‘यससँगै घोराही बजारमा खानेपानी, सडक विस्तार, विकल्पसहितको प्लास्टिक नियन्त्रणलगायत काम गर्नेछु ।’

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्