कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी ओलीले मन्त्रालय फुटाएमा विरोधमा उत्रिने बताएका छन् । प्रधानमन्त्रीले केही मन्त्रालय फुटाउने तयारी गरिरहेका खबर सार्वजनिक भइरहेका छन् ।
पार्टीभित्रको आन्तरिक विवाद मिलाउन राज्यमन्त्रीहरूलाई राजीनामा गर्न लगाएर प्रधानमन्त्रीले मन्त्रालय फुटाउन खोजेको चर्चा छ । हाल नेपालमा प्रधानमन्त्री कार्यालयसहित अहिले २१ मन्त्रालय छन् । त्यसलाई बढाएर २५ बनाउन लागेको चर्चासँगै विरोध पनि सुरू भएको हो ।
मन्त्रालय फुटाएर मन्त्री पद बाँड्ने गैरजिम्मेवार प्रवृत्तिलाई नयाँ संविधानले अन्त्य गर्न खोजे पनि त्यसको उलंघन गर्न खोजिएको भन्दै पौडेलले विरोध गरेका हुन् ।
‘जनतालाई सर्वसुलभ स्वास्थ्य सुविधा दिन नसकिरहेका बेला फेरि मन्त्रालय बढाउने काम गरियो भने त्यसको घोर विरोधमा हामी उत्रने छौं,’ पौडेलले बिहीबार फेसवुकमा लेखेका छन् । देशले कर्मचारीको पेन्सनसमेत धान्न नसक्ने अवस्था सिर्जना भइसकेको उनको भनाइ छ ।
‘देश विकास गर्ने सारा बजेटलाई अनावश्यक भर्ती केन्द्र खोलेर बिना दरबन्दी जतासुकै मनपर्दी ढंगले मान्छे भर्ने काम कम्युनिष्टले चलाएका छन् । कर्मचारीकै पेन्सन धान्न नसक्ने अवस्था भइसक्यो,’ पौडेलले भनेका छन् ।
देशलाई भार मात्रै पर्ने गरी प्रधानमन्त्रीले आफ्नो सुविधाका लागि मन्त्रालय फुटाउन नहुने पौडेलको भनाइ छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।