सैघाली खबर,
काठमाडौँ, १२ पुस । अबको एक सातामा प्रदेशसभाले पूर्णता पाउने निश्चित भए पनि निर्वाचनको अन्तिम परिणाम बुझाउनेबारे भने केही कानुनी जटिलता देखिएको छ । प्रदेशसभा सदस्य निर्वाचन ऐनअनुसार निर्वाचन आयोगले अन्तिम परिणाम प्रदेश प्रमुखलाई बुझाउने व्यवस्था छ । तर, अहिलेसम्म प्रदेश प्रमुखको नियुक्ति भएको छैन ।
निर्वाचन आयोगले समानुपातिक सिट बाँडफाँट गरी दललाई एक साताभित्र समावेशी रूपमा सदस्य सिफारिसका लागि पत्राचार गरिसकेको छ । एक साताभित्र दलले सदस्य सिफारिस गरे पनि आयोग मत परिणाम बुझाउने अवस्था भने छैन ।
दलहरूले बढीमा अबको पाँच दिनभित्र सदस्य सिफारिस गर्नेछन् ।
निर्वाचन आयोगले उक्त नामावली समावेशी सिद्धान्तअनुसार भए वा नभएको अध्ययन पछि स्वीकृत गर्नेछ । र, नामावलीमा नाम समावेश भएका उम्मेदवारलाई विजयी घोषणा गर्नेछ ।
प्रदेशसभा सदस्य निर्वाचन ऐनको दफा ६०९८० मा निर्वाचित उम्मेदवारको नाम आयोगले प्रदेश प्रमुखसमक्ष पठाई नामावली राजपत्रमा प्रकाशित गर्नुपर्ने व्यवस्था छ । आयोगले दलले पेश गरेको सूचीमा समावेश गरेका उम्मेदवार निर्वाचित भएको घोषणापछि नतिजा राजपत्रमा प्रकाशित गरी प्रदेश प्रमुखलाई बुझाउने कानुनी व्यवस्था छ ।
कानुनी व्यवस्थाअनुसार मत परिणाम राजपत्रमा प्रकाशित भएको २० दिनभित्र प्रदेशसभाको अधिवेशन बोलाउनुपर्नेछ । तर, अधिवेशन आह्वानका लागि पनि प्रदेश प्रमुख आवश्यकता पर्नेछ । प्रदेश प्रमुखबाटै मुख्यमन्त्री र प्रदेशसभाको सभामुखको शपथ हुनेछ । प्रदेश प्रमुख नभएमा सभामुखको शपथ हुने छैन । सदस्यहरूलाई सभामुख वा ज्येष्ठ सदस्यले शपथग्रहण गराउनुअघि सभामुख वा ज्येष्ठ सदस्यले पनि प्रदेश प्रमुखसँगै शपथ लिनुपर्नेछ ।
प्रदेशसभाको बैठक आह्वानदेखि शपथसम्मका लागि प्रदेश प्रमुखको भूमिका हुने भए पनि नियुक्ति प्रक्रियाले मूर्त रूप लिन सकेको छैन । सरकारले यसअघि प्रदेश प्रमुख नियुक्तिको प्रक्रिया अघि बढाए पनि निर्वाचन लगत्तै वाम गठबन्धनले सरकारले नियुक्त गरेका प्रदेश प्रमुखसँग शपथ नलिनेसम्मका अभिव्यक्ति दिएपछि प्रमुख नियुक्ति छायाँमा परेको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।