नयाँ दिल्ली । राष्ट्रिय जनता दलका नेता तथा बिहारका पूर्व उप-मुख्यमन्त्री तेजस्वी यादव र उनका दाजू एवं पूर्वमन्त्री तेजप्रताप यादवसहित ६ जना विरुद्ध हत्या आरोपमा मुद्दा दर्ता गराइएको छ ।
तेजस्वीसहित ६ जनामाथि पार्टीका एक पूर्वनेता शक्ति मलिकको हत्या आरोपसहित बिहारको पूर्णिया जिल्लामा प्राथमिकी (एफआईआर) दर्ता गराइएको बीबीसीले जनाएको छ । मलिकको हत्या आइतबार बिहान भएको थियो ।
उनी राष्ट्रिय जनता दलका आरक्षिततर्फको जाति-जनजाति विभागका सचिव रहिसकेका थिए । तेजस्वी-तेजप्रताप तथा राष्ट्रिय जनता दलका तर्फबाट यस विषयमा अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन ।
पूर्णियाका प्रहरी प्रमुख विशाल शर्माका अनुसार, मृतक शक्ति मालिककी पत्नी खुशबु देवीको बयानका आधारमा ६ जनाविरुद्ध एफआईआर दर्ता गरिएको हो । त्यहाँको प्रहरीले यसबारे थप जाँच गरिरहेको जनाइएको छ ।
एफआईआरमा अनिलकुमार साधु, कालु पासवान, सुनीता देवी र मनोज पासवानको नाम समावेश गरिएको छ ।
अनिलकुमार लोक जनशक्ति पार्टीका वरिष्ठ नेता एवं केन्द्रीय मन्त्री रामविलास पासवानका ज्वाइँ हुन् । साथै उनी आरक्षित जाति-जनजातितर्फका पूर्णिया जिल्ला अध्यक्षसमेत हुन् ।
शक्ति मलिकका नजिकमा मानिसहरुको दाबी यो छ कि मलिकले अररिया जिल्लाको रानीगन्ज विधानसभा क्षेत्रबाट सोही पार्टीको उमेदवारका लागि टिकट मागिरहेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।