बागलुङका ८३ वर्षीय वृद्धको हिरासतको बास



बागलुङ । प्रहरीले सरकारी छाप, कागज र दस्तखतको दुरुपयोग मुद्दाका फरार प्रतिवादी बागलुङ नगरपालिका–७ का ८३ वर्षीय इन्द्रनिधि पाध्यालाई पक्राउ गरेको छ । उनलाई विसं २०६४ पुस १३ गते अदालतले ११ महिना २० दिन कैद र रु ५० जरिवानाको फैसला गरेको थियो ।

उनी अदालतको फरार सूचीमा रहेका थिए । उनीसहित विभिन्न मुद्दामा दोषी ठहर भई अदालतबाट सजाय तोकिएका आठ फरार प्रतिवादीलाई आइतबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा कुटपिट मुद्दाका फरार जैमिनी नगरपालिका–१० का ५३ वर्षीय मनबहादुर श्रीस, सार्वजनिक अपराधमा सोही वडाका ३२ वर्षीय जनक श्रीस र २८ वर्षीय समिर श्रीस छन् ।

बागलुङ–९ का २६ वर्षीया किरण विक, वडा नं १० का विनोद शर्मा र बरेङ गाउँपालिका– १ का यमबहादुर थापा पनि सार्वजनिक मुद्दामै पक्राउ परेका हुन् ।

यस्तै गाली बेइज्जती मुद्दामा बरेङ–३ का ४० वर्षीया हीरा श्रीसलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद रेग्मीले बताए । फैसला कार्यान्वयनका लागि उनीहरुलाई आइतबार नै अदालतमा उपस्थित गराइएको उनको भनाइ छ ।

कैद सजाय तोकिएकालाई अदालतको आदेशले कारागार चलान गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकामध्ये न्यूनतम १०० देखि बढीमा सात हजारसम्म जरिवानाको सजाय पाएका छन् ।

कैद सजाय तोकिएकामा पाध्यासहित जैमिनी नगरपालिका–१० का श्रीस र बरेङ गाउँपालिका–१ का थापा छन् । श्रीसलाई विसं २०६७ जेठ २७ गते अदालतले दुई वर्षको कैद सजाय सुनाएको थियो । थापाको मुद्दामा अदालतले विसं २०७४ चैत १५ गते १०० जरिवानासहित ९०० जरिवाना तोकेको थियो ।

अदालतले कैद/जरिवाना तोकेपनि सजाय भुक्तान नगरी घरमै लुकीछिपी बसेका प्रतिवादीलाई पक्राउ गरिएको प्रनाउ रेग्मीले जानकारी दिए । प्रहरीले पछिल्लो समय ९२ फरार प्रतिवादीलाई पक्राउ गरिसकेको छ । पहिले धरौटीमा छुटेपनि अदालतले अन्तिम फैसला गरेपछि प्रतिवादी सम्पर्कमा नआइ लुकीछिपी बस्ने गरेका छन् ।

त्रियासी वर्षीय प्रतिवादी पाध्याको उमेरका कारण ७५ प्रतिशत कैद स्वतः छुट हुने कानूनी व्यवस्था छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्