काठमाडौं । संघीयताको विरोध गर्दै आएको नेपाल कम्युनिस्ट पार्टी (मसाल)ले नेपालका लागि संघीयता र प्रादेशिक संरचना आवश्यक नभएको दोहोर्याएकोछ ।
प्रदेश ५ को राजधानी सार्ने विषयले बुटवलमा तनाव भइरहेका बेला मसालले आइतबार साँझ वक्तव्य प्रकाशित गरी संघीयताले नेपालमा विखण्डन ल्याउने स्पष्ट पारेको छ ।
महामन्त्री मोहनविक्रम सिंहद्धारा जारी वक्तव्यमा प्रदेश राजधानीको विषयमा जुन प्रक्रिया अपनाइएको छ, त्यो गलत भएको बताइएको छ ।
मसालले राजधानी टुंग्याउने कार्य अधिकार सम्पन्न आयोगलाई दिनुपर्ने र त्यसको सुझावलाई सरकारले स्वीकार गर्नुपर्ने कुरामा निरन्तर जोड दिँदै आएको छ ।
राजधानी सम्बन्धी विवादमा देशमा क्षेत्रीय विग्रह देखा परेको भन्दै मसालले चिन्ता पनि जाहेर गरेको छ । वक्तव्यमा राष्ट्रिय जनमोर्चाका तर्फबाट संघीयता खारेजीका लागि संसदमा राखिएको प्रस्तावप्रति समर्थन गर्दै संघीयता खारेजीमा जोड दिइएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।