ट्रम्पको झुठ: आफू महंगो औषधिले उपचार गर्ने, जनतालाई केही चाहीँदैन भन्ने



अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोभिड १९ बाट निको हुनका लागि औषधी सेवन आवश्यक नरहेको बताएका छन् । जबकी, उनी आफैंले संक्रमणमुक्त हुने क्रममा धेरै दिनसम्म महंगा औषधी सेवन गरेका थिए ।

‘म तपाईहरुलाई अहिले भन्दैछु, म अस्पतालमा त्यस्तो खास राम्रो महसुस गरिँन,’ गत साता वाल्टर रिड मेकिडल सेन्टरमा भर्ना हुनुपरेको घटनाबारे उनले फक्स न्युजसँग बिहीबार भनेका छन्, ‘मलाई लाग्छ, म औषधी बिना पनि निको हुन्थें । तपाईहरुलाई साँच्चै औषधी आवश्यक पदैंन …। उनीहरुले मलाई केही स्टेरोइड दिएका थिए । जो लिनका लागि निकै सहज थियो ।’

तर वास्तविकता फरक छ । अमेरिकी सञ्चारमाध्यम हफिङटन पोस्टमा प्रकाशित समाचारअनुसार ट्रम्पलाई यस अवधिमा महंगा औषधि दिइएको थियो । स्टेोइड डेक्सामेथासोन  र एन्टिभाइरल औषधी रेम्डेसिभिरमात्रै नभएर परीक्षणका क्रममा रहेको कोरोना भाइरसको एक महंगो औषधीको मिश्रण उनलाई दिइएको थियो ।

अमेरिकी बायोटेक कम्पनी रेगेनेरोन फर्माक्युटिकल्सले यो औषधी उत्पादन गरेको हो । रेगेनेरोन कम्पनीका सिईओ ट्रम्पको गल्फ क्लबका सदस्य हुन् । उनको कम्पनीलाई कोभिड १९ को औषधी विकास गर्नका लागि सरकारले गत जुलाईमा ४ सय ५० मिलियन डलर दिएको थियो ।

ट्रम्प र उनका सहयोगीहरुले राष्ट्रपतीय चुनावका दौरान कोरोना भाइरस संक्रमणको विषयलाई पनि उचाल्दैछन्, उनीहरुले ट्रम्पलाई औसत मानिसको दाँजोमा कडा र बलियो देखाउने प्रयास गर्दैछन् । वाल्टर रिडबाट आइतबार डिस्चार्ज हुनभन्दा केही घण्टाअघि ट्रम्पले ट्वीट गर्दै अमेरिकीहरु भाइरससँग डराउन नहुने धारणा राखेका थिए । ‘कोभिडसँग नडराउनुस्,’ ट्रम्पले लेखेका थिए ।

जबकी, यस अवधिमा ट्रम्पले विशेष भिआईपी सुविधा पाए र अधिकांश अमेरिकीले नपाउने महंगा औषधी प्रयोग गरे । ‘यसलाई तपाईको जीवनमा हाबी हुन नदिनुस्,’ ट्वीटमा उल्लेख थियो ।

उपचार गराएर ट्रम्प अहिले राष्ट्रपतिय कार्यालय ओभल हाउसमा आफ्नो काममा फर्किइसकेका छन् । अमेरिकामा २ लाख ११ हजारभन्दा धेरै मानिसको ज्यान कोेभिड–१९ ले लिइसकेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्