लगानी बोर्ड र चिनियाँ सिमेन्ट कम्पनीबीच १५ अर्बको सम्झौता



सैघाली खबर
काठमाण्डौ, १२ पुस । नेपालमा सिमेन्ट उद्योग स्थापना गर्न लगानी बोर्ड र चिनियाँ कम्पनी हुवासिन सिमेन्ट नारायणी प्रालिबीच आज प्रारम्भिक सम्झौता भएको छ।लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी र कम्पनीकातर्फबाट समुन्द्रपार विकास निर्देशक ल्यू च्याङ्बोले प्रारम्भिक लगानी सम्झौतामा हस्ताक्षर गर्नुभएको बोर्डका प्रवक्ता उत्तमभक्त वाग्लेले जानकारी दिए।

लगानी बोर्डले उक्त कम्पनी स्थापना गर्नका लागि १५ अर्ब रपैयाँ बराबरको वैदेशिक लगानी स्वीकृत गर्ने निर्णय गरेको थियो । उक्त कारखानाबाट पहिलो चरणमा तीन हजार टन सिमेन्ट उत्पादन गर्ने लक्ष्य राखिएको छ।

धादिङको पानीखर्कमा चुनढुंगा खानी उत्खनन गर्न अनुमति दिइएको थियो। सम्झौताअनुसार परियोजनाको कूल लागतको ०।२ प्रतिशत हुन आउने तीन करोड बराबरको रकम नेपाल सरकारलाई बुझाउने लगानी बोर्डले उल्लेख गरेको छ।

उक्त कम्पनीले नेपाल सरकारलाई ६० करोड रुपैयाँ भुक्तानी गरी खानी प्राप्त गरेको हो। सम्झौतापछि प्रमुख कार्यकारी अधिकृत अधिकारीले नेपालमा वैदेशिक लगानीका लागि उपयुक्त वातावरण भएको सन्देश गएको बताए।

एक खर्बको पूर्वाधार बैंक खोल्न चीनको प्रस्ताव

यसैबीच चीनले नेपालमा एक खर्ब रुपैयाँको पूर्वाधार विकास बैंक खोल्न प्रस्ताव गरेको छ। चीनले अर्थमन्त्रालयलाई उक्त प्रस्ताव पठाएपछि अर्थले यसबारे राष्ट्र बैंकसँग सुझाव मागेको थियो।

राष्ट्र बैंकले पूर्वाधार विकास बैंकको लाइसेन्सिङ खुला गरेको दुई साता नबित्दै चीनले प्रस्ताव पठाएको हो। चीनले एक खर्बको बैंकमा २० अर्ब रुपैयाँ बराबरको सेयर नेपाल सरकारलाई निशुल्क दिने प्रस्ताव गरेको छ।

नेपालमा पूर्वाधार विकास बैंक खोल्नका लागि कम्तिमा २० अर्ब रुपैयाँ चुक्ता पूँजी चाहिन्छ। चीनले राष्ट्र बैंकले तोकेभन्दा पाँच गुणा वढि पूँजीसहित नेपाल आउन खोजेको हो।

राष्ट्र बैंकले विदेशी संयुक्त लगानीमा खुल्ने पूर्वाधार विकास बैंकको हकमा विदेशी लगानीकर्ताको अधिकतम ८५ प्रतिशत र सर्वसाधारण लगानीकर्ताको कम्तीमा १५ प्रतिशत रहने व्यवस्था रहेको भन्दै यसै अनुसार प्रस्ताव संशोधन गर्न सुझाव दिएको छ।

अर्थ मन्त्रालय स्रोतका अनुसार आगामी र्माचमा चीनका राष्ट्रपति सि जिनपिङ नेपाल भ्रमणमा आएका बेला द्वीपक्षीय सम्झौता गर्ने तयारी भइरहेको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्