मुख्य समाचार

नव निर्वाचित प्रधानमन्त्रीको सपथ आज, आजै मन्त्रिमंडल गठन हुने ।।

By थाहा अनलाइन

June 07, 2017

जेठ,२४

नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवाले आज पद तथा गोपनियताको सपथ ग्रहण गर्दै हुनुहुन्छ । आज दिउँसो २ बजे प्रधानमन्त्रीको पद तथा गोपनियताको सपथ लिने कार्यक्रम तय भएको छ । राष्ट्रपति कार्यालय शितल निवासमा सपथ कार्यक्रम हुनेछ । सपथ लिएसँगै उहाँले पदभार सम्हाल्नु हुनेछ । देउवाको पक्षमा ३ सय ८८ सांसदले मत दिएका थिए भने विपक्षमा १ सय ७० मत परेको थियो ।

 

संसदमा ५ सय ९३ सदस्य कायम रहेकोमा प्रधानमन्त्री चयनको निर्वाचनमा ५ सय ५८ मत खसेको थियो । सपथपछि आज नै सानो आकारको मन्त्रिपरिषद् बनाउने तयारी छ । आज प्रधानमन्त्रीको शपथग्रहण लगत्तै देउवाले समर्थनमा रहेका दलहरुबाट पहिलो चरणमा ५ जनासम्मको मन्त्रिमंडल बनाउने तयारी गर्नुभएको छ । माओवादी केन्द्र, कांग्रेस, फोरम लोकतान्त्रिकबाट गरि ५ जनाको मन्त्रिमंडल बनाउने कांग्रेस नेताहरुले बताएका छन् । कांग्रेसबाट ज्ञानेन्द्रबहादुर कार्की, महेश आचार्य पहिलो चरणमा नै जाने बताइएको छ । माओवादी केन्द्र, राप्रपा र फोरम लोकतान्त्रिकबाट एक–एक जना मन्त्रिपरिषद्मा सहभागि हुने कांग्रेसका नेताहरुले बताएका छन् ।