लुम्बिनी प्रदेशको राजधानी देउखुरीमा प्रदेशस्तरिय बहुउद्देश्यीय रङ्गशाला बनाउने तयारी



करिब २ सय १९ विगाहा क्षेत्रफलमा रङ्गशाला बनाउने योजना

भालुवाङ २४ असोज । लुम्विनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरीमा बहुउद्देश्यीय रङ्गशाला निर्माण हुने भएको छ । राप्ती गाउँपालिका, गढवा गाउँपालिका र शितगंगा नगरपालिकाको संगमस्थलका रुपमा रहेको समथर भूभागमा बहुउद्देश्यीय रङ्गशाला निर्माण गर्ने तयारी सुरु भएको राप्ती गाउँपालिकाले जानकारी दिएको छ ।

गाउँपालिकाको वडानम्वर ७ को भानपुर, सोट्की सिसहनिया, अर्नहानपुर, वडानम्वर ३ को वसन्तापुर क्षेत्रमा पर्ने २ सय १९ विगाहा क्षेत्रफलमा बहुउद्देश्यीय रङ्गशाला निर्माण गर्ने कार्यको थालनी भइसकेको गाउँपालिकाका प्रवक्ता विद्याशरण चौधरीले जानकारी दिए । ‘एक निर्वाचन क्षेत्र एक रङ्शाला कार्यक्रमअन्तर्गत हामीले बहुउद्देश्यीय रङ्गशाला निर्माण गर्ने कार्यको थालनी गरेका छौं’, प्रवक्ता चौधरीले भने, ‘प्रदेशको राजधानी क्षेत्रमा अन्तर्राष्ट्रियस्तरका प्रतियोगीता सञ्चालन गर्न मिल्ने खालको बहुउद्देश्यीय रङ्गशाला निर्माण गर्नका लागि गाउँपालिका लागिपरेको छ ।’

राप्ती र गढवा गाउँपालिकाको मध्यविन्दूमा रहेको २ सय १९ विगाहा क्षेत्रफलको ऐलानी जग्गालाई रङ्गशालाका लागि प्रयोग गर्ने तयारी स्वरुप जग्गा संरक्षणको कार्यको थालनी गरिएको प्रवक्ता चौधरीले जानकारी दिनुभयो । गढवा गाउँपलिका वडानम्वर २ र राप्ती गाउँपालिका वडानम्वर ७ का किसानहरुले चर्चिदै आएको भन्दै प्रवक्ता चौधरीले उक्त जग्गामा रङ्गशाला निर्माणका लागि प्रदेश सरकारसँग समन्वय थालिएको जानकारी दिए ।

‘कृषकहरुले प्रयोग गर्दै आएको २ सय १९ विगाह क्षेत्रफलको ऐलानी जग्गालाई रङ्गशाला निर्माणमा प्रयोग गर्ने गाउँपालिकाको निर्णय अनुसार प्रदेश सरकारसँग सहयोगको माग गरिसकेका छौं’, प्रवक्ता चौधरीले भने, ‘जग्गाको विवाद नटुङ्गीएकाले रङ्गशाला निर्माणको कार्यले तीब्रता पाउन सकेको छैन । सबै सरोकारवालाहरुसँगको समन्वयमा छिट्टै नै रङ्गशाला निर्माणको कार्यको थालनी गर्छौं ।’

रङ्गशाला निर्माणका लागि प्रदेश सरकारले आर्थिक वर्ष २०७५÷२०७६ मा प्रदेश सरकारले ६५ लाख बजेट विनियोजन गरेको बताउँदै प्रवक्ता चौधरीले जग्गाको विवादका कारण बजेट खर्च नभएको जानकारी दिए । फुटबल, क्रिकेट, एथलेक्टिसलगायतका सबै खेल सञ्चालन गर्ने उद्देश्यले रङ्गशाला निर्माण गर्न लागेको भन्दै उनले पहिलो चरणमा ३० विगाह क्षेत्रफलको जग्गामा रङ्गशाला निर्माणका लागि डिपिआर निर्माण गरेर लुम्बिनी प्रदेशको सामाजिक विकास मन्त्रालयमा पेश गरिसकेको जानकारी दिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्