५३५ घर नदी कटानको जोखिममा



धनगढी । कैलालीको भजनी नगरपालिका–५ का ५३५ घर नदी कटानको उच्च जोखिममा छन् । भजनी नगरपालिका–५ लाई मोहना नदी र कन्द्रा नदीले पूर्व, दक्षिण र उत्तरतिरबाट घेरेको छ । यी दुई नदीको कटानले यहाँका नागरिक समस्या झेल्दै आएका छन् ।

बाईस टोल रहेको वडामा एक हजार ३५० घरधुरी छन् । यहाँका नागरिकले मोहना नदी कटानले वर्षेनी दुःख झेल्दै आएका छन् । वडा नं ५ का चम्रैदा, लखरया, कालापातल, फाटाटोल र सानो कौवाखेडाका करिब १८२ घर मोहना नदी कटानको जोखिममा छन् भने क्रवला, लौबस्ता, लालबोझी, भगतपुर, कर्मदेव, नयाँ बस्ती, बेलाहा, मिलानपुर, पिपरकोटी, दुदुवाफाटा र ठूलो कौवाखेडाका करिब ३५३ घर कन्द्रा नदीको कटानको जोखिममा छन् ।

यहाँ वर्षात्मा मात्र नभई हिउँदमा पनि कटान भइरहेको मिलानपुरकी विष्णु रेग्मी बताउँछन् । “नदीमा पानी बढे बाढी आउँछ, नदी बस्तीमा पसेर खेतीयोग्य जमिन पटान हुन्छ, हिउँद भएमा थप कटान हुन्छ”, विष्णुले भने, “हामी ढुक्कले कहिल्यै सुतेका छैनौँ, सधैँ डर र तनावमा जीवन चलेको छ ।”

यहाँ नदी कटान र पटानले स्थानीयको सयौँ बिघा जमिन बगर भइसकेको छ । नदी कटानले सयौंँ परिवार घरवारविहीन भएका छन् । यस वर्ष गत साउनमा आएको बाढीले त्यहाँका सयौँ परिवार विस्थापित भएका थिए । बेलहाका टीकाराम भण्डारी नदी कटानले वर्षेनी यहाँका नागरिक दुःख झेलिरहेको बताउँछन् ।

“बाढी आएपछि करिब एक महिना विस्थापित हुनुपर्यो, दुई ठूला नदीले घेरेकाले यहाँका नागरिक सधैँ त्रासमा रहन्छौँ”, भण्डारी भन्छन्, “नदी नियन्त्रणका लागि सरकारले तदारुकता देखाउन आवश्यक छ । यहाँ खेतीयोग्य जमिन छ । खेती राम्रो हुन्छ । यो ठाउँ जोगाउन स्थायी तटबन्ध गरिन आवश्यक छ ।”

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्