जिल्ला प्रहरी कार्यालय गुल्मीले वन्यजन्तु चोरी शिकारमा प्रयोग हुने विस्फोटक पदार्थ सहित मोटरसाइकल बरामद



रमेश विश्वकर्मा गुल्मी, असोज २५ जिल्ला प्रहरी कार्यालय गुल्मीले वन्यजन्तु चोरी शिकारमा प्रयोग हुने विस्फोटक पदार्थ सहित मोटरसाइकल बरामद गरेको छ । जिल्लाको ऐतिहासिक धार्मिक एवम पर्यटकीय स्थल रेसुङ्गा क्षेत्रमा गोप्य सूचनाको आधारमा पुगेको प्रहरीको गस्ती टोलीले गएराती साढे ११ बजे रेसुङ्गा संरक्षित बनको गौशाला नजिकबाट विस्फोटक पदार्थ सहित दुई वटा मोटर साइकल बरामद गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डिएसपी) केदारराज पन्तले जानकारी दिए । उनका अनुसार मोटरसाईकलको लेगार्डमा झुण्डाई राखेको अवस्थामा कालो र खरानी रङको २ वटा झोला भित्र बिष्फोट पदार्थ र विभिन्न ईलेक्ट्रोनिक्स सामान नियन्त्रणमा लिइएको हो । लु ३५ प ४८५६ नम्बरको २२० सीसीको पल्सर र लु १६ प १९१७ नम्बरको होण्डा साइन मोटरसाइकल तथा मोटरसाइकलसहित झोलामा राखिएको बारुद मोटो एक सय र मसिनो एक सय ७५ ग्राम, छर्रा फलामको एक सय १५, किटको ६० र सिसाको एक सय ५० ग्राम बरामद गरिएको हो । केप २१ थान, केपमा प्रयोग हुने पटका दुई रोल, लाइटको ब्याट्री तीन थान, रेती र पेचकस दुई र दुई थान, सियो धागो तीन थान, बन्दुक सफा गर्ने तेल एक बट्टा, कैँची लगायतका सामग्री फेला पारिएको हो । हातहतियार तथा बिष्फोटक पदार्थ लिई गएका मानिसहरुले उक्त क्षेत्रमा अबैध रुपमा वन्यजन्तु पशुपंक्षी चोरी सिकारी गर्दै छन भन्ने गोप्य सुचनाको आधारमा प्रहरी नायव निरीक्षक भेष बहादुर घर्तीमगरको नेतृत्वमा प्रहरी टोली गौशाला पुगेको थियो । प्रहरीको गस्ती टोली पुग्ने बित्तिकै सिकारी साथमा रहेको हतियार लिएर भागेका थिए । उनीहरुले लिएर गएको मोटरसाइकल तथा विस्फोटक पदार्थ बरामद गरिएको डिएसपी डिएसपी पन्तले जानकारी दिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्