सैघाली खबर,
काठमाडौँ, १३ पुस ।। काठमाडौंमा बुधबार भएको सवारी दुर्घटनामा २७ वर्षीय कलाकार विना थापाको मृत्यु भएको छ ।
बुधबार बत्तीसपुतलीमा बा २ ख ८९४ नम्बरको पानी ट्याङ्करले बा ५५ प १३८७ नम्बरको स्कुटरमा सवार कलाकार थापालाई ठक्कर दिँदा उनको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते विनाको उपचारका क्रममा वीर अस्पतालमा मृत्यु भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।
गुल्मीको मुसिकोट गाउँपालिका–२ निवासी विना पछिल्लो समय राजधानीमा अभियनमा सक्रिय थिइन् । थिएटर म्युजिक भिडियोमा काम गरेकी विनाले रेखा थापाको रामप्यारीमा अभिनय गरेकी थिइन् । उनले अभिनय गरेको पिँजडा ब्याक अगेन प्रदर्शन हुन बाँकी नै छ । पिरतीको डोरी, दिन बित्योलगायत दर्जनौं गीतमा उनले मोडलिङ गरेकी छिन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।