सयपत्री फूलको हेरचाह



तिहार आउँदैछ । तिहार भन्नेबित्तिकै फूलप्रेमीहरुको आँखामा सयपत्रीको तस्बिर आइहाल्छ । हिन्दू धर्म मान्नेहरुका लागि त तिहारमा सयपत्री नभई नहुने फूल हुँदै हो । त्यसबाहेक, एशियामा सबैभन्दा प्रचलित मौसमी फूलहरुमध्येका एक सयपत्री (Marigolds) पनि हो । रोप्न, हुर्काउन र स्याहारसुसार गर्न सजिलो फूलहरुमध्येका एक फूल हो सयपत्री ।

प्रकाश

सयपत्रीले सूर्यको प्रकाश मन पराउँछ । यसलाई दिनको ६ घण्टा घाम लाग्ने ठाउँमा राख्दा विरुवा राम्रो सप्रन्छ । सयपत्रीले गर्मीलाई मज्जाले खप्न सक्छ ।

माटो

सयपत्रीका लागि यस्तै माटो चाहिन्छ भन्ने खासै छैन । तर हरेक विरुवाहरुलाई जस्तै सयपत्रीलाई पनि पानी नजम्ने, जैविक पदार्थहरु पर्याप्त भएका माटो राम्रो हुन्छ ।

विरुवाबीचको दूरी : विरुवाहरु स्वस्थ रहन र राम्रोसँग हुर्कनको लागि सबैभन्दा मुख्य कुराहरुमध्येका एक हावाको राम्रो आवातजावात हुनु पनि हो । यस अर्थमा सयपत्रीका विरुवाहरुलाई पनि एक आपसमा निक्कै नजिक वा जोडाएर राख्नु हुँदैन । बोटमा हावाको राम्रो प्रवाह होस् भन्नाको लागि दुईटा बोटका बीचमा ८–१० इन्चको दूरी राखिदिँदा विरुवा राम्ररी सप्रिएर आउँछ । अझ ठूलो र झाडीदार हुने अफ्रिकन प्रजातिको सयपत्रीका बीचमा त १०–१२ इन्चको खाली भाग राख्न सके झनै राम्रो ।

पानी

सयपत्रीले पानीलाई राम्ररी सहन सक्छ । तर यसको अर्थ अन्य विरुवाहरुलाई जस्तै सयपत्रीको बोटमा पानी जम्न दिनु हुँदैन । त्यसैले सयपत्रीमा पानी हाल्दा माटोको माथिल्लो भाग सुख्खा भएपछि मात्रै पानी हाल्दा राम्रो । जमीनमा रोपिएको भन्दा गमला वा भाँडोमा रोपिएका सयपत्रीलाई तुलनात्मक रुपमा छिटोछिटो पानी हाल्नुपर्छ । सयपत्रीलाई पहिलो पटक गमला वा जमीनमा सार्दा पर्याप्त मात्रामा पानी हाल्नुपर्छ ।

मल

सयपत्रीमा मल हाल्दा ध्यान दिनुपर्ने कुरा के हो भने यसलाई नाइट्रोजन कम, फस्फोरस बढी जरुरत पर्छ । बढी नाइट्रोजन भयो भने पातहरु चाहिँ मज्जाले हराभर भएर त आउँछ तर फूल कम लाग्छ । त्यसैले सयपत्रीमा फूल बढी फुलाउनको लागि नाइट्रोजनको मात्रा कम, फस्फोरस बढी भएको मल हाल्दा राम्रो । सयपत्रीमा रासायनिक मल वा जैविक मल हाल्दै हुनुहुन्छ भने पनि नाइट्रोजन–फस्फोरस–पोटासियम (NPK) को अनुपात ५–१०–५ भएको हाल्दा राम्रो ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्