पछिल्लो समयमा कैलालीका किसानलाई धान भित्र्याउन चटारो



असोज २६ कैलाली
हरिश बम
कैलाली जिल्लाका किसानलाई यति बेला वर्षे धान बाली काटेर भित्र्याउने चटारो बढेको छ । असोजको पहिलो साता देखिनै धान पाक्न थालेपछि किसानले धमाधम धान काट्न थालेका छन् । असार महिनामा रोपिएको धान यति बेला पाकेर पहेंलपुर भएको र धान बेचेर खर्चको जोहो गर्नुपर्ने हुँदा आफूहरूलाई धान भित्र्याउने चटारो बढेको स्थानीय कृषकहरूले बताएका छन् । कति पय किसानहरूले धान काटेर भित्राई सकेका छन् भने कति पय किसानहरू काट्ने तयारीमा रहेका छन् । किसानको मुख्य आम्दानीको स्रोतका रुपमा रहेको धान बेचेरै घरायसी र अन्य खर्चको जोहो कृषकले गर्दै आएका छन ।
कति पय किसानहरूले मेसिनको प्रयोग गरिरहेको छन् भने कति पयले हातले धान काटिरहेको छन । धेरै जग्गा जमिन भएको किसानहरूले मेसिनको प्रयोग गरिरहेको र आफ्नो थोरै जमिनमा भएकाले घर परिवार मिलेर धान बाली काटेर भित्र्याउने तयारी रहेको छ ।
विगतमा हातैले धान काट्ने, चुट्ने र गोरुले खेत जोत्दै आएकामा अहिले बाली लगाउने देखि भित्र्याउने सम्म सबै काम मेसिनको प्रयोगबाट गरिरहेका छन् । धान काट्ने र झार्ने काममा आधुनिक कृषि औजारको प्रयोग बढ्न थालेपछि समयको बचत हुनाका साथै परिश्रमसमेत कम लाग्न थालेको किसानहरूको भनाई छ । धान बाली पछि तोरी बालीका लागि जग्गा तयार गर्नुपर्ने भएकाले पनि किसानहरू धान भित्र्याउन दिनभर व्यस्त भएका छन् । ढिलो भए जग्गाको चिस्यान उडेर तोरी राम्रोसँग उम्रिन नपाउने भएकाले किसानले धान भित्र्याए लगत्तै तोरी छर्ने गर्दछन् । कति पय किसानहरूले धान बाली भित्राएर जग्गा तयार गरी तोरी, मुसुरो, आलु र अन्य व्यमौसमी तरकारी लगाई रहेका छन् । चाडपर्वको समयमा नयाँ धानको चामल पिँधेर बनाइने पीठोबाट न्वागी, माणा, सरौला, ढिक्रीजस्ता स्थानीय खानाका परिकार पकाएर खाने चलन भएकाले पनि किसानलाई धान काट्ने चटारो बढेको हो । धान काट्नु अघि नयाँ धानको बाला काटेर आ–आफ्नो घरको दैलोमा र कूलदेवताको मन्दिरमा गोबरले टाँसेर पूजा गर्ने परम्परा पनि सुदूरपश्चिम प्रदेशमा छ । धान उत्पादनका लागि उर्वर जग्गा रहेको कैलाली जिल्लामा झन्डै ७२ हजार पाँच हेक्टर जग्गामा धान खेती हुँदै आएको छ । कैलाली जिल्लामा उत्पादन हुने धान पहाडी जिल्लामा समेत आपूर्ति हुने गरेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्