भारतले नटेरेपछि नेपाल–भारत नियमित सीमा बैठक स्थगित



काठमाडौं । वर्षौंदेखि नेपालको सीमा मिच्दै नेपाली भूमीमा परेड खेल्दै आएको भारत बसेर यो समस्या हल गर्न चाहन्न । यसैबीच नेपाल र भारतबीच यो वर्ष पनि सीमा सम्बन्धी नियमित बैठक हुन सकेको छैन । भारतकै आनाकानीका कारण बाउन्ड्री वर्किङ ग्रुप (बीडब्लूजी)को बैठक बस्न नसकेको हो ।

नेपालमा हुनुपर्ने बैठक बस्न नेपालले दुईपटक भारतलाई प्रस्ताव गरेको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्साल नेपालले बैठकको मिति तोकेर प्रस्ताव पठाए पनि भारतका तर्फबाट कुनै प्रतिक्रिया नआएको जानकारी दिइन् । सेप्टेम्बरमा बैठकको मिति तोकेर नेपालले प्रस्ताव पठाएको थियो ।

‘यसअघि हामीले प्रस्ताव पठाएको थियौं तर बैठक गर्न सकेनौं’, प्रवक्ता नेपालले भनिन् । उनले पछिल्लोे प्रस्तावको प्रतिक्रिया छिट्टै आउने आशा व्यक्त गरिन् । विगतमा अगष्ट अन्तिम र सेप्टेम्बर पहिलो साता बीडब्लूजीको बैठक हुने गरेको थियो । एक वर्ष नेपाल र अर्को पटक भारतमा बैठक सञ्चालन हुँदै आएको छ ।

गत वर्ष अगस्ट अन्तिम साता (२८–३०)मा भारतको उत्तराखण्डको राजधानी देहरादुनमा बैठक बसेको थियो । भारतले वर्षौंदेखि अतिक्रमण गरेका लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई नेपालले आफ्नो नक्सामा समेटेपछि भारतीय पक्ष रुष्टहुँदै आएको छ । भारतले सामान्य संवाद नै बन्द गरेको थियो ।

भारतले २०७६ कात्तिक १६ मा नेपाली भूभाग लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर नक्सा जारी गरेपछि नेपालले ती भू–भाग आफ्नो भएको धारणा सार्वजनिक गरेको थियो । लिम्पियाधुरा सहितको भू–भाग आफ्नो भएको नेपालको अडानपछि भारत असन्तुष्ट रहँदै आएको छ ।

नेपालले मिति तोकेर वार्ता प्रस्ताव गरे पनि भारतले त्यसलाई महत्व दिएको छैन । पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई प्रमुख दूत बनाएर पठाउने नेपालको प्रस्तावलाई भारतले स्वीकारसमेत गरेन । उल्टै नेपालको भू–भाग भएर मानसरोवर जाने बाटो उद्घाटन ग¥यो। त्यसपछि नेपालले नयाँ नक्सा जारी गरेको हो । तब लामो समय संवादहीनताको अवस्था नै रह्यो ।

भारतको गणतन्त्र दिवसमा प्रधानमन्त्री केपी ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच संवाद भएपछि वार्ताको ढोका खुलेको अनुमान गरिएको थियो तर त्यसपछि वार्ताको तयारी भइरहेको जनाइए पनि सीमासम्बन्धी कुनै वार्ता, बैठक हुन सकेको छैन । यो समाचार आजको अन्नपूर्ण पोष्टमा छापिएको छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्