खाली पेटमा खानु उचित हुँदैन यी खाने कुरा



खानपान सम्बन्धी कतिपय सामान्य कुराहरुको हेक्का नहुँदा हामीले अनेकन स्वास्थ्य समस्या झेल्नुपर्छ । जस्तो कति खानेकुरा यस्ता हुन्छन्, जसलाई आपसमा एकसाथ खाँदा त्यो विषाक्त बन्छ । त्यसैगरी कति खानेकुरा खाली पेटमा खानु उचित हुँदैन । खानपानका यी सामान्य ज्ञान भएमा कतिपय संभावित जटिलताबाट बच्न सकिन्छ ।

गोलभेडा

तरकारीमा मिसाउन होस्, अचार बनाउन वा सलादको रुपमा खान, गोलभेडा उपयोगी हुन्छ । यसले उच्च रक्तचाप, मुटु रोगको जोखिम कम गर्छ । साथै गोलभेडामा भिटामिन सि, पोटासियम तथा फोलेट पनि पाइन्छ । खाली पेटमा गोलभेडा खाँदा पत्थरी, ग्याष्ट्रिक तथा अल्सरको जोखिम बढाउँछ ।

केरा

सदाबहार फल हो, केरा । उत्तिकै गुणी पनि । आइरन तथा पोटासियमले भरपूर केरा स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । यसको सेवनले शरीरमा आइरनको कमी हुन पाउँदैन । यद्यपि खाली पेटमा केरा खानु रोग निम्त्याउनु बराबर हो ।

कफी

धेरैको बानी हुन्छ बिहान कफी वा चिया पिउने । त्यस्तै दिक्कलाग्दो समय कटाउन होस् वा कुनै खुसी मेट्न, कफीको साथ खोजिन्छ । कतिपयमा कफीको लत नै हुन्छ । यद्यपि बिहान खाली पेटमा कफी पिउनु उचित मानिदैन । यसले अपच, एसिडिटीदेखि अल्सरको समस्या समेत निम्त्याउने जोखिम हुन्छ ।

पिरो र मसलेदार खानेकुरा

हामीलाई अमिलो, पिरो र मसलेदार खानेकुरा देख्नसाथ लोभ लाग्छ । मुखमा पानी आउँछ । कतिपयले हरेक छाकमा यस्तै स्वाद खोज्ने गर्छन् । यद्यपि खाली पेटमा पिरो वा मसलेदार खानेकुरा खानु भनेको अल्सरको जोखिम बढाउनु हो । एसिडिटी, ग्याष्ट्रिकदेखि पाचन यन्त्रको रोग बढाउनु हो ।

यसैगरी मेवा पनि खाली पेटमा खाँदा धेरै फाइदाजनक हुने बताइन्छ । खरबुजा खाली पेटमा खानु लाभदायक हुन्छ । ड्राइ फ्रुट्स पनि खाली पेटमा सेवन गर्दा बढी फाइदा मिल्छ ।

दही

दही स्वास्थ्यका लागि अत्यान्तै उपयोगी पेय हो । क्याल्सियम र प्रोटिनको भरपुर स्रोत हो यो । दहीले पाचन सम्बन्धी समस्या कम गर्न र शरीरमा उर्जा बनाइराख्न सहयोग गर्छ । गर्मीको याममा यसले शरीरलाई शितल बनाइराख्छ । तर, दही सेवनमा केही सर्त पालना गर्नु जरुरी छ । अक्सर दही रातको समयमा खानु हुँदैन । त्यसैगरी खाली पेट पनि दही खानु उचित हुँदैन । खाली पेटमा दहीको सेवनले शरीरमा एसिडिटीको स्तर बढ्नुका साथै चिसो लाग्न सक्छ ।

अमिलो फलफुल

भिटामिन ‘सी’ले भरिपूर कागती, सुन्तला लगायतका अमिलो फल सबैको रोजाईमा पर्छ । विशेषगरी, जाडो मौसममा घाममा बसेर यस्ता फल खानुको मज्जा पनि बेग्लै हने गर्छ । शरीरलाई स्वस्थ राख्न पनि यस्ता फल निकै महत्वपूर्ण मानिन्छ । तर खाली पेटमा यस्ता फल सेवन गर्नाले एसिडिटीको समस्या निम्तिने गर्छ । त्यसैले, विशेषज्ञहरु यस्ता फल सेवन गर्न सल्लाह दिने गर्छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्