अछाम । नक्कली फेसबुक पेज बनाई अश्लिल र आपत्तिजनक सन्देश र श्रव्यदृश्य पठाउने तथा तस्वीरको स्वरुप विगारेर असान्दर्भिक विषयवस्तु पोष्ट गर्ने व्यक्ति विरुद्ध मुद्धा चलाइएको छ ।
प्रहरीको साइबर ब्यूरोमा परेको उजुरीका आधारमा अनुसन्धान गरि अछामको ढकारी गाउँपालिका–५ बस्ने किरण बुढाविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्धा दायर गरिएकोब्यूरोले आज एक विज्ञप्ति जारी गरी जनाएको छ । उनले ख्यातीप्राप्त महिला कलाकारको फोटोको स्वरुप विगारेर फेसबुक पेजमा राख्ने गरेको भनी निवेदन परेको थियो ।
हाम्रो ढकारी गाउँपालिका अनलाइन खबर नामको पेज बनाएर बुढाले अश्लिल गतिविधि सञ्चालन गरेको पाइएको ब्यूरोका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालले जानकारी दिए ।
उनी विरुद्ध अछामको ढकारी गाउँपालिका नामको अनधिकृत पेज बनाई गाउँपालिकाको बदनाम गरेकाले खोजी गरी कानुन अनुसार कारवाहीका लागि ब्यूरोमा पत्राचार समेत गरेको थियो ।
सोही निवेदनको आधारमा उनीमाथि ब्यूरोले अनुसन्धान थालेको थियो । उनले विद्युतीय कारोबार ऐन २०६३ अन्तरगतको कसुर गरेकाले हदैसम्मको सजाय मागदावी लिई जिल्ला सरकारी वकीलको कार्यालयमार्फत जिल्ला अदालत काठमाडौँमा मुद्धा दायर गरिएको ब्यूरोले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
यसैबीच ब्यूरोले बाल अश्लिलता फैलाउने काठमाडौँ कागेश्वरी मनहरा नगरपालिका–८ बस्ने प्रविण ढकाल विरुद्ध समेत मुद्धा चलाइएको जनाएको छ । सामाजिक सञ्जाल र फेसबुक म्यासेन्जरबाट अश्लिल श्रव्यदृश्य पठाइ हैरानी पारेको उजुरीका आधारमा अनुसन्धान गर्दा उनले विद्युतीय कारोबार ऐन अन्तरगतको कसुर गरेकाले काठमाडौँ जिल्ला अदालतमा मुद्धा चलाइएको अर्यालले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।