अशोक बिजयादशमी कि दशहरा ( दशै)



रघु परियार
वरिष्ठ उपाध्यक्ष- नेपाली जनता दल
अशोक विजयादशमी कि दशहरा (दशैं)
सिंगो भारतवर्षमा इतिहास देखि धर्म ,संस्कृति, परम्परा, भाषा ,भेष लगायतका थुप्रै कुराहरु ब्राह्मणीकरण गरिएका छन् । कतिपय नियतवश गरिएका छन् भने कतिपय संयोगवश पनि भएका छन्। विशेषतः आर्य जातिको अथवा आर्य नश्लका मानिसहरुको प्रवेश संगै सिन्धुघाँटीको हडप्पा तथा मोहनजोदारोको द्रविडहरूको भव्य सभ्यता नष्ट भयो। तब द्रबिडहरूको सभ्यतालाई आर्यहरूले आफ्नो रङ दिन थालेको पाउँछौ । जस्तो कि संस्कृत भाषाका ग्रन्थहरू लेखिन थाले । सिन्धुघांटीका खरोष्टी तथा ब्राह्मी लिपी हराउन थाले । पाली भाषालाई किनाराकृत गरियो। प्रकृतिपूजक द्रविडहरुको धार्मिक आस्थाको ठाउँमा शैव पन्थ, वैष्णव पन्थ आदि हिन्दुमत हाबी हुन थाल्यो। इतिहासकार डा. जयसवाल ‘ब्राह्मणवादी प्रतिक्रान्ति’ भन्नुहुन्छ ।यस लेखमा हिन्दु धर्माबलम्बीहरुले भव्यताका साथ मनाउने दसैं पर्व र ब्राह्मणीकरण बारे केही भ्रम चिर्ने प्रयत्न गर्नेछु।

अशोक विजयादशमी
सिंगो भारत वर्षमा सबैभन्दा शुरवीर, प्रतापी, बलशाली, प्रियदर्शी तथा चक्रवर्ती सम्राट हुनुहुन्थ्यो सम्राट अशोक मौर्य । इतिहासमा सम्राट अशोकलाई सबैभन्दा ठूला मानवतावादी राजाका रूपमा व्याख्या गरिएको छ। सम्राट अशोकको शासनकालमा बौद्ध धर्मले राजधर्मको मान्यता प्राप्त गरेको थियो। ई.पू. २६६ मा सम्राट अशोकले निग्रोधद्वारा बौद्ध धर्मबाट दिक्षित हुनुभएको थियो। यो दिन तिथिका हिसाबले आश्विन शुक्ल पक्षको दशमी तिथि थियो। यसै दिन देखि अशोक विजयादशमी मनाउन थालिएको हो।

यो दिन मानवतावादको विजयको दिनको रूपमा खुशीयाली मनाउने दिन हो। सम्राट अशोक बिन्दुसार मौर्य र रानी धर्मा (शुभद्राङ्गी) को पुत्र हुनुहुन्थ्यो । रानी धर्मा हिंसामा विश्वास गर्नुहुन्नथ्यो । शान्त शीलस्वाभावकी हुनुहुन्थ्यो। यही प्रभाव अशोकमा पनि परेको थियो। तर अशोक अन्याय, अत्याचारका बिरुद्ध तुरुन्त प्रतिवाद गर्नु हुन्थ्यो । जस्को प्रभावले खण्ड खण्डमा रहेको भारतलाई अखण्ड भारत बनाउने महान् कार्य सम्राट अशोकले पूरा गर्नुभयो । ई.पू. २६२ को कलिङ युद्धले उहाँ अत्यन्तै मर्माहत हुनुभएको थियो। त्यसपश्चात् उहाँले आफ्नो सम्पूर्ण तन, मन र धन बौद्ध धर्मको श्रीवृद्धिमा लगाउनुभयो । आज बौद्ध धर्म देशविदेश सम्म फैलनु र तथागत गौतम बुद्ध एसियाको ताराको रूपमा विश्वप्रसिद्ध हुनुको श्रेय सर्वप्रथमत सम्राट अशोकलाई नै जान्छ।

दशहरा(दशैं)
दशैको वास्तविकता जान्नका लागि भारतवर्षको कमसेकम पनि मौर्य साम्राज्य र सुंग साम्राज्य बारेमा जान्नै पर्ने हुन्छ। सुंग साम्राज्यका संस्थापक थिए पुष्यमित्र सुंग । पुष्यमित्र अन्तिम मौर्य सम्राट बृहदत्तका सेनापति थिए। पुष्यमित्रले राजकाज बारेमा बुझन निकै सुझबुझका साथ काम गरेको देखिन्छ। भनिन्छ, त्यसकारण नै पुष्यमित्र सुंगले आफ्नी दिदीको विवाह सम्राट बृहदत्तसंग गरिदिएका थिए। उनलाई मौर्य साम्राज्यले ब्राह्मणहरुमाथि गरेको अपमानको बदला लिनु थियो। बौद्ध धर्मले राजधर्मको मान्यता पाएर विस्थापित अथवा रक्षात्मक अवस्थामा पुगेको ब्राह्मण धर्म (हिन्दु धर्म) लाई पुनर्जागरण गर्नु थियो। फलतः हतियार निरिक्षणको निहु पारेर सम्राट बृहदत्तलाई सेनापति पुष्यमित्र सुंगले शीर छेदन गरी हत्या गरिदिए। ई.पू. १८४ मा आफू स्वघोषित सम्राट बनेर जनताको बिद्रोहबाट बच्न मगधको राजधानी पाटलीपुत्रबाट साकेत सारे।

साकेत नगरी ऐतिहासिक बौद्धभूमि थियो। त्यसैले साकेतलाई नाम परिवर्तन गरी अयोध्या अर्थात् बिना युद्ध जितेको राजधानी भनेर नामाकरण गरे। उनको राजदरबारमा बाल्मिकी नाम गरेका राजकवि थिए। जस्ले रामायणको रचना गरेर रामलाई जनस्तर सम्म भगवानको रुपमा स्थापित गरिदिए। रामायणको राम अरु कोही थिएनन्- पुष्यमित्र सुंग नै राम थिए। दश टाउको भएका रावण मौर्य साम्राज्यका चन्द्रगुप्त देखि बृहदत्त सम्मका दश जना सम्राटका प्रतीक थिए । अर्थात् पुष्यमित्र सुंग (राम) ले मौर्य साम्राज्य( रावण) लाई अन्त्य गरेको ग्रन्थ स्वरूप रामायणको रचना गरी दशहरा मनाउन लगाइयो। किनकि पुष्यमित्र सुंगलाई अशोक विजयादशमी पर्वमाथि डाहा थियो।

अर्को दुर्गा र महिषासुरको कथा पनि दशहरासंगै जोडिएर आउने गर्छ। नाताका हिसाबले पुष्यमित्र सुंगको भिनाजु थिए- बृहदत्त मौर्य । आफ्नो पतिको मृत्युपछि पुष्यमित्र सुंगलाई आफ्नी शोकाकुल दिदीलाई मनाउन निकै गाह्रो भयो । पुष्यमित्र सुंगले आफ्नी दिदीलाई फकाउने क्रममा दुर्गाको नाम दिए। मौर्य सम्राटहरूलाई महिषासुरको नाम दिए। राक्षसहरु मारिएकोमा पीर नलिन आग्रह गरे। दुर्गालाई देवीका रूपमा सबै प्रजाहरुलाई पुजा गर्न लगाए र आफ्नी दिदीलाई फकाए । त्यसपश्चात दुर्गाको पुजा पनि दशहराको अंग बन्न पुग्यो। दुर्गालाई दश हात भएकी शक्तिशाली नारीको रूपमा स्थापित गरियो। मौर्य साम्राज्यका दश सम्राटहरूको असुर रूपको व्याख्यालाई नष्ट पार्ने यो मिथक सान्दर्भिक र फलदायी थियो र भयो पनि ।

ब्राह्मणीकरण
डा. विजयकुमार त्रिशरणमको अशोक विजया दशमीको ब्राह्मणीकरण नामक पुस्तक प्रकाशित छ। यस पुस्तकमा विशेषतः बौद्धमय भारतलाई कसरी हिन्दुकरण गरियो ? र मूलवासी द्रविडहरूको सभ्यतामाथि कसरी ब्राह्मणीकरण गरियो? भन्नेबारेमा उल्लेख छ। बौद्ध धर्मले राजधर्म प्राप्त गरेको भारतभूमिमा अशोक विजयादशमी शान्तिको पर्वको रूपमा स्थापित थियो। आर्य शाषकहरूबाट हिंसाको पर्व, काटमार तथा पशुहत्याको पर्वको रुपमा दसैंलाई विकसित गरिदिने काम भयो। पशुहत्यालाई बौद्ध भिक्षुहरूको कल्लेआम हत्याको प्रतीकात्मक अर्थको रुपमा पनि डा. त्रिशरणम्‌को पुस्तकमा उल्लेखित गरिएको छ ।

सुंग साम्राज्यमा बौद्धमय स्तुप, विहार आदिको नष्ट गर्ने काम मात्र भएन कि भिक्षुहरूलाई खोजीखोजी हत्या गर्ने काम पनि भयो। धेरै भिक्षुहरू ज्यान बचाउन भागेर चीन, भूटान, थाइल्याण्ड, श्रीलङ्का, मंगोलिया आदि मुलुकहरू तर्फ लागेको इतिहास भेट्टाउछौं। नेपालको सन्दर्भमा घले राजाहरूको हत्या प्रसंगलाई पनि दसैं संग जोडेर हेर्नु पर्ने हुन्छ। पृथ्वीनारायण शाहको नेपाल एकिकरण नेपाललाई असिल् हिन्अ
सिल् हिन्दुस्तान बनाउने कदम थियो। त्यसकारण यहाँका मूलबासी राजाहरूलाई मार्ने मात्र गरेनन् कि उनीहरूका कला, संस्कृति , भाषाभेष समेत मास्ने कामको अगुवाई गरे। घले राजाहरूलाई हत्या गरी सम्पूर्ण प्रजाहरूलाई रगतमा अक्षता मुछेर निधारभरि लगाउन लगाए । यो शाह राजाहरूको हिन्दुकरणको अनुपम रूप थियो। पछि सिंगो मुलुकलाई पहाडीकरण गर्न पञ्चायतले ठूलो काम गर्‍यो । विशुद्ध आर्यहरूको चाडपर्व पनि शाषकहरूले सबै क्षेत्र, जाति, लिङ्ग, सम्प्रदायमाथि जबरजस्ती लाद्ने काम भएको देखिन्छ।

उपसंहार
नेपालको धार्मिक तथा सांस्कृतिक सत्ता एकल जातीय अर्थात् आर्य ब्राहमण नश्लमा आधारित छ । जस्को स्वरूप र प्रकृति सामाजिक, आर्थिक, तथा राजनीतिक संरचनामा प्रष्ट देखिन्छ। कतिपय इतिहासलाई बङ्ग्याइएको छ। कतिपयलाई नामोनिशान केही नरहने गरी मेटाउने प्रयत्न गरिएको छ। उदाहरणका लागि लिच्छवीकाल भन्दा अघिका ठोस प्रमाणहरू मुस्किलले मात्र फेला पर्दछन । भारतवर्षमा मौर्य साम्राज्य अघिको हालत लगभग त्यस्तै पाउँछौं । किन त ? यो प्रश्नको जवाफ आम मानिसले पाउनै सकेको छैन। कसैले जवाफ दियो भने पनि पत्याउनै गाह्रो पर्छ । भारतवर्षमा आर्यहरूको प्रवेशपछि भएको सांस्कृतिक अतिक्रमणको ज्वलन्त प्रमाण हो- दशहरा अर्थात दसैं ।

दसैं वा दशहरा भारत वर्षको मौलिक पर्व होइन भन्ने तथ्य माथिका प्रसंगले पनि पुष्टि गर्दछन् । यो विशुद्ध आर्यहरूको पर्व हो। अन्य जाति तथा सम्प्रदायको पर्व होइन। तर अशोक विजयादशमी भने भारतवर्षको मौलिक पर्व हो। यहाँका बहुसंख्यक मूलबासी समुदायको पर्व हो। सम्पूर्ण मानवताका पक्षधरहरूको पर्व हो ।सम्राट अशोक पनि भारतीय मूलबासी समुदायकै हुनुहुन्थ्यो ।

डा. त्रिशरणम्‌को पुस्तकका अनुसार सम्राट अशोक भारतको मूलबासी गडेरी समुदायको हुनुहुन्थ्यो। प्रजापालक हुनुहुन्थ्यो। यस्ता परमप्रतापी सम्राट शान्तिमार्गमा बौद्धको पथमा लाग्ने प्रण गर्नुभएको पवित्र दिन अशोक शुक्ल दशमीको तिथि महत्त्वपूर्ण र ऐतिहासिक पनि छ । यस दिनले हामीलाई मानवताको हिमायती बन्न प्रेरणा दिन्छ। अतः सम्पूर्ण मूलबासीहरुले आफ्नो मौलिकता बुझ्न र पहिचान गर्न जरूरी छ । दसैं मूलबासीको धर्म , परम्परा, संस्कृति, भाषा, भेष तथा मौलिकता माथिको ब्राह्मणीकरणको जिउँदो जाग्दो प्रमाण हो। दसैं एक हिसाबले मूलबासी समुदायको दशाको प्रतिरुप पनि हो। यसकारण दसैंलाई त्याग्नु वा बहिष्कार गर्नु नै श्रेयस्कर हुन्छ। बरु मनाउने नै हो भने यही तिथिमा अशोक विजयादशमी पर्व मनाउनु सर्वथा उचित र फलदायी हुन्छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्