सैघाली खबर,
लितपुर, १४ पुस । नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार कार्यसम्पादन समितिको बैठक बोलाउनुभएको छ । प्रदेश सभाको समानुपातिकतर्फको उम्मेदवारहरूको नामावलीको टुङ्गो लागउनका लागि बैठक डाकिएको नेपाली काँग्रेस केन्द्रीय सचिवालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
काँग्रेसले प्रदेश सभाका लागि ७२ जनाको समानुपातिकको नामावलीको टुङ्गो लगाउनुपर्नेछ । निर्वाचन आयोगले शुक्रबार कार्यालय समयभित्रै नामावली आयोगमा बुझाउन दलहरूलाई पत्राचार गरेको छ ।
त्यसबाहेक बैठकमा समसामयिक राजनीतिक परिस्थितिबारे पनि छलफल गरिने कार्यसूची रहेको छ । निर्वाचनको परिणामका विषयलाई लिएर पार्टीको बैठक बोलाउन नेपाली काँग्रेसका केही केन्द्रीय सदस्यले माग गर्दै आएका छन् ।
कार्यसम्पादन समितिको बैठकपछि केन्द्रीय समितिको बैठकको मिति तोकिने सचिवालयले जनाएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।