जिल्लामै पहिलो पटक पीसीआर मेसिन भित्रियो



नवलपरासी । विश्वभर महामारीको रुपमा फैलिएको कोभिड–१९ परीक्षणका लागि जिल्लामा पहिलोपटक पीसीआर मेसिन भित्रिएको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु जिल्ला अस्पताल डण्डामा रहने गरी सङ्घीय सरकारले आज पिसीआर मेसिन हस्तान्तरण गरेको हो ।

जिल्लामा पिसीआर मेसिन नहुँदा चितवन, पोखरालगायतका स्थानमा लगेर कोभिड–१९ को परीक्षण गर्नुपर्ने अवस्थामा मेसिन भित्र्याइएको हो ।  मेसिन भित्र्याइएको भएपनि यसलाई जडान गरेर नियमित सञ्चालनमा ल्याउन एक महिना लाग्ने स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईले बताए ।

उक्त मेसिनका लागि स्थान र जनशक्ति व्यवस्थापन, मेसिनको गुणस्तर परीक्षणलगायत काम बाँकी रहेकालेले गर्दा पीसीआर मेसिन सञ्चालनका लागि कम्तिमा एक महिना लाग्ने चापागाईको भनाइ छ ।

जिल्लामा सङ्क्रमणको दर बढिरहेको अवस्थामा सङ्घीय सरकारका तर्फबाट उपलब्ध गराइएको पिसीआर मेसिन सांसद तिलक महतले अस्पतालका अध्यक्ष डा. गोपाल खनाललाई हस्तान्तरण गरेका हुन् ।

पीसीआर मेसिन आएपछि अब रिपोर्टका लागि धेरै दिन कुर्नुपर्ने अवस्थाको अन्त्य भएको भन्दै सांसद महतले यसले कोभिड विरुद्धको लडाइलाई अझै सहज बनाउने बताए । कार्यक्रममा महतले जिल्ला अस्पताललाई स्तरोन्नति गर्दै जिल्लामै सबै सेवा उपलब्ध गराउनतर्फ आफूले सङ्घीय सरकारसँग पहल गरिरहेको बताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्