पुनर्वासबाट अहिलेसम्मकै ठुलो परिमाणको हिरोईन बरामद



धनबहादुर बिक- कञ्चनपुर महेन्द्रनगर
प्रहरीले पुनर्वास नगरपालिका ६ बाट ४४ ग्राम खैरो हिरोइन बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले यो अहिलेसम्मकै सबैभन्दा ठूलो मात्राको लागू औषध बरामद गरेको हो । प्रहरीले हिरोइन सहित त्यसको कारोबारमा संलग्न चार जनालाई पक्राउ गरेको छ ।
प्रहरीले चार जना सहित बरामद हिरोइन आइतबार प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक मुकुन्द मरासिनीले अहिलेसम्मकै सबैभन्दा ठूलो मात्राको खैरो हिरोइन बरामद गरिएको बताए ।
‘यो भन्दा पहिला पनि बरामद त हुन्थ्यो, यो चाहिँ अहिलेसम्मको ठूलो मात्राको हो’ उनले भने ।
पुनर्वास नगरपालिका ६ ङ गाउँस्थित सडक खण्डमा भारतबाट ल्याई रहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय र लागु औषध नियन्त्रण ब्युरोको टोलीले हिरोइन सहित चार जनालाई शनिबार पक्राउ गरेको थियो ।
पक्राउ पर्नेमा पुनर्वास नगरपालिका ४ घगाउँका दिनेश भट्ट, बेलौरी नगरपालिकाका गगन शाही, रमेश रावत र रोशन शाही छन् । भट्ट बाहेक अन्य सबै बेलौरी नगरपालिका १ का पटैयाका हुन् ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमर बहादुर थापाले से ३ प ८१८४ र से १ प ८५३९ नम्बरको मोटरसाइकलमा जाँच गर्दा हिरोइन जस्तो देखिने पदार्थ बरामद गरिएको बताए ।
भारतबाट अवैध रुपमा भित्रिएको एक लाखको हिरोइन दुईदेखि अढाई लाख रुपैँयामा बिक्री हुने प्रहरीको भनाई छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्