​सिनेमामा लगानी अब लाख हैन करोडै माथि,करोडै माथीका फिल्महरु यी हुन



सैघाली खबर,
काठमाडौं, । –पहिले–पहिले सिनेमाको लगानी लाखमा सीमित थियो भने अहिले करोडमा पुगेको छ । लगानीसँगै सिनेमाको कारोबार पनि राम्रो भएका कारण पनि निर्माताहरु सिनेमामा लगानी गर्न निर्धक्क हुन थालेका छन् ।यतिबेला नयाँदेखि पुराना कलाकारहरुलाई समावेश गरेर काम भईरहेको सिनेमा ‘शत्रु गते’ निर्माणमा डेढ करोड रुपैयाँ खर्च हुने भएको छ । महका ‘ह’ हरिवंश आचार्यले हामीसँगको कुराकानीमा सिनेमा निर्माणको लागि १ करोड ५० लाख लाग्ने जानकारी दिएका छन् । यसअघि पनि केही सिनेमाहरुले आफ्नो लगानी करोडभन्दा माथि गरेका छन् ।

जसमध्ये केहीले लगानी उठाएका छन् भने केहीले उठाउन सकेका छैनन् । आगामी सिनेमा ह्याप्पी डेज, कृ, राज्जा रानी, कान्छी, पनि करोड भन्दा माथिको बजेटमा निर्माण भएका सिनेमा हुन् ।

हाल छायाकंन भईरहेको सिनेमा ‘लिलिबिलि’को लगानी पनि करोड भन्दा माथि नै देखिएको छ । विदेशमा छायाकंन गरेका कारण सिनेमाको लगानी धेरै हुन गएको हो । सन् २०१७ भित्र करोड भन्दा माथिको लगानीमा निर्माण भएका सिनेमाहरुको बारेमा कुरा गर्नुपर्दा छक्का पञ्जा २, लुट २, रुद्रप्रिया, प्रेम गीत २ लगायतका सिनेमाको नाम आउँछ ।

दीपाश्री निरौलाको निर्देशन तथा हाँस्यकलाकारहरुको सयुंक्त निर्माण रहेको सिनेमा ‘छक्का पञ्जा २’को लगानी एक करोड भन्दा माथि पुगेको थियो । तर चाखलाग्दो कुरा सिनेमाले लगानी रिलिज अगावै उठाएको थियो । यस सिनेमाको ओभरसिज र डिजिटल अधिकार नै एक करोडमा बिकेको थियो । यस सिनेमाको प्रिक्वेल‘छक्का पञ्जा’ का सफलताका कारण यो टिमले सिक्वेलमा लगानी गर्न कन्जुस्याई गरेको थिएन ।

लगानी भयो भने सिनेमा राम्रो बन्ने र त्यसको फल पनि राम्रै हुनेमा आफूहरु ढुक्क भएको यो टिमको भनाई छ । छक्का पञ्जा २ ले झण्डै १६ करोडको कारोबार गर्यो ।

उता १ करोड ६० लाखको लगानीमा निर्माण भएको सिनेमा ‘लुट २’ले दुई दिनमै तीन करोडको कारोबार गरेको थियो । यसको प्रिक्वेल ‘लुट’का कारण पनि सिनेमाको शुरुवाती कारोबार आक्रामक रह्यो । तर यसले खासै धेरै दिनसम्म आक्रामक कारोबारमा निरन्तरता पाएन । ‘लुट’कै सफलताका कारण निर्माण पक्षले ‘लुट २’ को लागि पैसा र समय धेरै खर्चेको थियो । सिनेमामा दयाहाङ राई, सौगात मल्ल, ऋचा शर्मा, कर्मा शाक्य, एलिशा राई लगायतका कलाकारहरुको मुख्य भूमिका थियो ।

यसै वर्ष रिलिज भएको अर्को सिनेमा ‘रुद्रप्रिया’ पनि करोड भन्दा माथिको लगानीमा बनेको सिनेमा हो । सरस्वती थापा र आर्यन फिल्मसको निर्माण तथा सुदीप बबी भुपाल सिंहको निर्देशन रहेको यस सिनेमाले औषत कारोबार गरेको थियो । यसमा आर्यन सिग्देल र रेखा थापाको मुख्य भूमिका छ । रेखा र आर्यनले ‘रुद्रप्रिया’ मार्फत सात वर्ष पछि पर्दा बाँडेका कारण रिलिज अगाडि निकै चर्चा भएको थियो । तर चर्चा जति सिनेमाले सफलता भने पाएन ।

सन्तोष सेनको निर्माण तथा रामशरण पाठकको निर्देशन रहेको सिनेमा ‘प्रेम गीत २’को कुल लगानी दुई करोड भन्दा माथि भएको निर्माताले बताईसकेका छन् । नेपालसँगै विदेशमा सिनेमाको आधा भन्दा धेरै छायाकंन गरिएको थियो । सिनेमामा समावेश थाईल्याण्ड र बर्माका सिन दर्शकल रुचाएका थिए ।

विदेशमा खिचिएका कारण पनि यस सिनेमाको लगानी धेरै हुन आएको थियो । यसका साथै सन्तोषले सिनेमाका कलाकारको पारिश्रमिकमा समेत लोभ गरेका थिएनन्

निर्माता सेनले प्रिक्वेल ‘प्रेम गीत’को सफलताका कारण लगानी गर्ने आँट गरेको बुझिन्छ । उनको आँटलाई दर्शकले खेर जान पनि दिएनन् । सिनेमाले नेपालबाटै ८ करोड भन्दा धेरैको कारोबार गरेको थियो । यतिबेला यो सिनेमा विदेशमा प्रदर्शन भईरहेको छ ।

हेमराज बिसीको लेखन तथा निर्देशन रहेको सिनेमा ‘ग्याङस्टार ब्लुज’को लगानी पनि एक करोड भन्दा माथि पुगेको निर्माताहरुले जनाएका थिए । आना शर्मा र आशिरमान देशराज जोशीको मुख्य भूमिका रहेको सिनेमाले कारोबार पनि राम्रै गर्यो । निर्माताका अनुसार सिनेमाले नेपालबाटै लगानी उठाएको छ ।

यो वर्ष एक करोड भन्दा माथिको बजेटमा बनेको अर्को सिनेमा हो, ‘ए मेरो हजुर २’ । सुनिल कुमार थापाको निर्माण तथा झरना थापाको निर्देशन रहेको यस सिनेमामा सुनिल कुमार थापाले नै लगानी गरेका हुन् । सिनेमामा साम्राज्ञी राज्य लक्ष्मी शाह र सलिनमान बनियाको मुख्य भूमिका छ । नेपालबाटै लगानी उठाएको यो सिनेमा अहिले विदेश प्रदर्शनमा छ ।

‘मेरो पैसा खोई’ पनि यो वर्ष एक करोड भन्दा धेरैको लगानीमा बनेको सिनेमाको सूचिमा छ । तर यो सिनेमा कारोबारमा भने सफल भएन । सिनेमाको निर्माणमा करोड खर्चेका निर्माताले लगानी उठाउन भने सकेनन् । अर्को सिनेमा ‘छक्का पञ्जा २’सँग जुधेका कारण यस सिनेमाको कारोबार खस्किएको हो । सिनेमामा सौगात मल्ल र वर्षा राउत मुख्य भूमिकामा छन् । रोज राणाको निर्माण रहेको यस सिनेमालाई पहिले बलिउड निर्देशक विवेक शर्माले निर्देशन गर्ने कुरा थियो तर पछि आपसी असमझदारीका कारण विवेकले सिनेमाको काम बीचमै छोडे । पछि यसलाई रोज स्वयमले निर्देशन गरेका थिए ।

रमेश उप्रेतीको निर्माण तथा दीवाकर भट्टराईको निर्देशन रहेको सिनेमा ‘ऐश्वर्य’को लगानीपनि एक करोड भन्दा माथि नै पुगेको छ । शुरुमा सिनेमाको लागि एक करोड बजेट छुट्याईएको थियो तर पछि यो बजेट कम भयो र लगानी बढ्यो । यस हिसाबले सिनेमाको लगानी एक करोड भन्दा धेरै हुन गयो । लगानी अनुसार सिनेमाको कारोबार पनि राम्रो हुन गयो । यस सिनेमाले पहिलो सातामै लगानी उठाएको थियो । सिनेमामा रमेश उप्रेती, दीपिका प्रसाईँ र प्रशान्त ताम्राकार मुख्य भूमिकामा छन् ।

अभिनेत्री छुल्ठिम गुरुङको पहिलो निर्माण सिनेमा ‘डायरी’को लगानी पनि एक करोड भन्दा माथि नै थियो । तर सिनेमाको कारोबार भने औषत रहन गयो । यस सिनेमामा छुल्ठिम गुरुङ र सन्नी सिंह मुख्य भूमिकामा छन् भने रेखा थापाले भिलेनको भूमिका निर्वाह गरेकी छिन् । सिनेमालाई अनिल योन्जनले निर्देशन गरेका हुन् भने छुल्ठिमले निर्देशकसँगै मिलेर निर्माण गरेकी हुन् ।

जापनिज निर्देशकले निर्देशन गरेको सिनेमा ‘माई लव’को लगानी साढे तीन करोड भन्दा धेरै पुगेको थियो । तर यस सिनेमाले नेपालमा लगानी उठाउन सकेन । मंसिर २९ देखि प्रदर्शनमा आएको यस सिनेमाको कारोबारको आधिकारिक जानकारी नै सार्वजनिक भएन । केहीले सिनेमाको कारोबार लाखमा सिमित रहेको बताएका छन् । यस सिनेमामा गणेश लामा र सित्तल श्रेष्ठको मुख्य भूमिका छ । भुकम्पको कथा समावेश गरिएको यस सिनेमामा धरहरा ढलेको सिनले हलसम्म दर्शक आउने अपेक्षा निर्माताहरुले राखेका थिए तर त्यसो भएन ।uyjaalo

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्