देउखुरीको लमहीमा ६ करोड बढीको लगानीमा सुविधा सम्पन्न होटल सञ्चालन



ओमप्रकाश गुप्ता, लमही ३ कार्तिक । लुम्बिनी प्रदेशको राजधानी क्षेत्र दाङ देउखुरीको लमहीमा ६ करोड बढीको लगानीमा अत्याधुनिक सुविधा सम्पन्न होटल सञ्चालनमा आएको छ । लमही नगरपालिका वडा नम्बर ५ लमही रातोडाँडामा होटल ए वान लभ्ली स्टार प्रालि सञ्चालनमा आएको होटलका संचालक कृष्ण खनालले जानकारी दिएका छन् ।

१७ वर्षको उमेरमा भारतको पञ्जावमा होटल लाइनमा सिप सिकेर त्यहीको कमाईबाट खनालले स्वदेशमै होटल खोल्न सफल भएका हुन् । उच्च शिक्षा पढेर स्वदेशमै केही गर्ने लक्ष्य बोकेका खनाल घरको आर्थिक स्थिति कमजोर भएका कारण प्रवेशिका परीक्षा पास गरेपछि पढाई विचमै छोडेर भारतको पञ्जाब तिर लागेका थिए । करिब १७ वर्ष होटल लाइनमा काम गरेका खनाल केही वर्ष होटलमा जुठो भाँडा माझेर बल्लतल्ल खाना बनाउने काम सिक्ने अवसर पाएको उनले बताए । यता घरमा बुवाले खेती किसानी गरेर परिवार पाल्दै आएका थिए ।

खाना पकाउने काम पूर्णरूपमा सिकेपछि होटल सञ्चालकले कामको मूल्यांकन गरेर चाइनिज डिपार्ट सम्हाल्ने अवसर दिएका थिए । त्यो समयमा खनालले धेरै कुरा सिक्ने मौका मात्र हैन पैसा पनि कमाए । लामो समय पराईको भूमिमा गरेको दुःख र आर्जेको पैसाले अहिले खनालले ठुलो लगानीमा आफ्नै व्यवसायी सुरु गरेका हुन् ।

यसै बिच होटलको सोमवार एक कार्यक्रमको आयोजना गरि उद्घाटन गरिएको छ । होटलको उद्घाटन प्रतिनीधि सभा सदस्य मेटमणी चौधरीले गरेका छन् । होटलको उद्घाटन गर्दै सांसद चौधरीले तीन खम्बे अर्थनीति अन्तर्गत निजि क्षेत्रले देशको आर्थिक विकासमा महत्वपूर्ण भूमिका खेलेको बताएका छन् । उनले होटललाई पैसा आर्जन गर्ने माध्याम मात्र नबनाई अतिथिलाई सन्तुष्ट पार्न सक्नु पर्ने उनको भनाई छ ।

करोडौ रकम खर्चेर होटल सञ्चालनमा ल्याउने व्यवसायीले सेवा सत्कार गरेर मात्र आर्थिक आय आर्जन नहुने भन्दै आफ्नो लगानीमा पनि ध्यान दिनुपर्ने बताए । साथै अब लुम्बिनी प्रदेशबासी भएकोले अन्य जिल्लाका मानिससंग बोलिने भाषा, शब्द मर्यादित र सभ्य हुनुपर्ने भन्दै अब समग्र लुम्बिनी प्रदेशको विकासका लागि सबैले आ आफ्नो ठाउँबाट सहयोग गर्नु पर्ने बताए । होटल संचालक कृष्णप्रसाद खनालको अध्यक्षता एवम् प्रतिनीधि सभा सदस्य मेटमणी चौधरीको प्रमुख आतिथ्यतामा भएको उद्घाटन कार्यक्रममा होटलका म्यानेजर जगन भट्टराईले होटलले दिने सेवा सुविधाको बारेमा जानकारी गराएका थिए । कार्यक्रममा सामुदायिक रेडियो प्रसारक संघ लुम्बिनी प्रदेशका अध्यक्ष केपी घिमिरे, दुर्गाबहादुर थापा लगायतका वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन पत्रकार दिवाकर पोख्रेलले गरेका थिए ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्