देशलाई द्वन्द्वको भुँवरीमा न धकेल्न नेकपाको जोडदार चेतावनी



नेपाल कम्युनिष्ट पार्टीले आज एक बक्तब्य निकाल्दै सरकारको जनस्वास्थ्यप्रतिको खेलबाड, सांसदहरुको दशैभत्ता र शान्तिपूर्ण संयुक्त आन्दोलनमाथि दमन गर्ने खालको सरकारी धम्कीको जोडदार बिरोध जनाएको छ । पार्टीका संह–संयोजक लोकनारायण सुबेदीले दिएको बक्तब्य यस प्रकार छ :

१. नेपाल सरकारले जनता कोरोनाका कारण बिमारी परेमा त्यसको जिम्मा नलिने र जनताले आफै उपचार गर्नु पर्ने जस्तो जुन घोर अमानबीय र जनबिरोधी तथा संबिधानको धारा ३५ बिपरीतको निर्णय सार्बजनिक गरेको छ त्यसप्रति नेपाल कम्युनिष्ट पार्टीले घोर आपत्ति जनाउँदै त्यसको तीब्र निन्दा र भर्त्सना गर्दछ । साथै जन स्वास्थ्यमा खेलबाड नगर्न, यस सम्बन्धि सर्बोच्चको परमादेशको सम्मान गर्न तथा जनताको बाच्न पाउने अधिकार र स्वास्थ्योपचारको पूर्ण जिम्मेवारी लिन तथा त्यसलाई अझ प्रभावकारी बनाउन नेपाल कम्युनिष्ट पार्टी जोडदार माग गर्दछ ।

२. सरकारले एकातिर जनताको बच्न पाउने अधिकारमाथि नै खेलबाड गर्दै उपचारबाट पञ्छिने, आम जनता भोक र रोगले आच्छु आच्छु परेको बेला उनीहरुका समस्यालाई बेवास्ता गर्दै सांसदलाई गैर कानुनी किसिमले दशैंभत्ता बितरण गर्ने जस्तो कार्यको निन्दा गर्दै सांसदलाई बितरण गरेको सम्पूर्ण दशै भत्ता फिर्ता गर र त्यसलाई जनताको उपचार कोषमा दाखिला गरी जन स्वास्थ्यमा लगाऊ भन्ने जोडदार माग नेपाल कम्युनिष्ट पार्टी गर्दछ ।

३. नेपाल कम्युनिष्ट पार्टी शान्तिपूर्ण आन्दोलनमा कार्यगत एकता गरेर अघि बढ्न थालेका राजनीतिक दलहरुलाई दमन गर्ने र द्वन्द्व निम्त्याउने जस्तो कुरा गृहमन्त्री रामबहादुर थापा बादलले प्रहरी दिवसका दिन जुन ब्यक्त गरेका छन् त्यो घोर आपत्तिजनक र षडयन्त्रपूर्ण छ ।

देशमा ब्याप्त भ्रष्टाचार, चर्को महँगी, बढ्दो बाह्य हस्तक्षेप, एमसीसी जस्तो राष्ट्रघाती सम्झौता, जनतन्त्रमाथिको हमला र कष्टकर जनजीबिका सम्वन्धमा संयुक्त बिरोध प्रदर्शन गर्न लागेका दलहरुलाई धरपकड र दमन गर्न प्रहरीलाई उक्साउने धम्कीपूर्ण भाषा प्रयोग गरेर गृहमन्त्री स्वयंले संबिधानको घोर उल्लंघन गरेको र जनताले शान्तिपूर्ण तरीकाले भेला, सभा प्रदर्शन, बिरोध आदि गर्न पाउने संबैधानिक अधिकारको धज्जी उडाएको औंल्याउँदै यस्ता दमनकारी कदम चालेर देशलाई द्वन्द्वको भुँवरीमा न धकेल्न पनि नेपाल कम्युनिष्ट पार्टी जोडदार चेतावनी दिन चाहन्छ ।

लोकनारायण सुबेदी
सह–संयोजक
नेपाल कम्युनिष्ट पार्टी
२०७७ कर्तिक ३

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्