भारतले हडप्न थालेका छाङ्गरु र तिङ्करका जनतालाई खाद्यान्न पठाइँदै



कञ्चनपुर । सुदूरपश्चिम प्रदेश सरकारले व्यास गाउँपालिका–१ स्थित छाङ्गरु र तिङ्कर गाउँमा खाद्यान्न ढुवानी गर्ने भएको छ । खाद्यान्न ढुवानी गर्न माउण्टेन एयरको हेलिकोप्टर सदरमुकाम खलङ्गा आइपुगेको छ । हेलिकोप्टरले आजदेखि खाद्यान्न ढुवानी गर्ने तयारी गरेको छ ।

हेलिकोप्टरमार्फत खाद्य सामग्री ढुवानी गर्न प्रदेश सरकारले ४५ लाख बजेट निकासा गरेको छ । उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले घरेलु तथा साना उद्योग विकास समितिको कार्यालय दार्चुलालाई खाद्य सामग्री ढुवानीका लागि बजेट उपलब्ध गराएको हो ।

प्रदेश सरकारले व्यास क्षेत्रमा हेलिकोप्टरमार्फत खाद्य सामग्री ढुवानीमा अनुदान उपलब्ध गराएको घरेलु तथा साना उद्योग विकास समितिका कार्यालयका प्रमुख गङ्गाकुमारी मगरले जानकारी दिइन् । पहिलो चरणमा १८० क्विन्टल खाद्यान्न ढुवानी गरिन लागेको हो । चामल, नुन, दाल, तेललगायत खाद्यान्न सामग्री ढुवानीको तयारी गरिएको बताइएको छ । खाद्यान्नको जोहो गर्ने जिम्मा वडालाई दिइएको छ ।

स्थानीयवासीको मागका आधारमा वडाले छाङ्गरु र तिङ्करको लागि खाद्यान्न ढुवानी गर्न लागेको वडासचिव विनोद तिङ्करीले बताए । “आजदेखि खाद्यान्न ढुवानी गरिन्छ”, उनले भने । दशैँअघि नै खाद्यान्न पुर्याउने लक्ष्यअनुसार तयारी गरिएको हो ।

दुवै गाउँका सबै घरधुरीका लागि ढुवानी अनुदानमा खाद्य सामग्री हेलिकोप्टरमार्फत पुर्याउन लागिएको हो । १९ असोजमा व्यास गाउँपालिकाको घाँटीबगरमा नेपाली सेनाले निर्माण गरेको बाटो उद्घाटन गर्न दार्चुला पुगेका मुख्यमन्त्री त्रिलोचन भट्टले व्यास क्षेत्रलाई प्रदेश सरकारले प्राथमिकता दिएको दाबी गरेका थिए ।

स्थानीयवासीले व्यासको लागि तत्काल खाद्यान्न ढुवानी गर्न पटक–पटक माग गर्दै आएका थिए । यसअघि गत असारमा मात्रै खाद्यान्न ढुवानी गरिएको थियो । व्यासको छाङ्गरुमा ११७ घरधुरी र तिङ्करमा ७५ घरधुरीको बसोबास छ । व्यासका स्थानीयवासी आगामी मङ्सिरमा कुञ्चा अर्थात् बसाइँ सर्ने हुँदा दशैँअगावै खाद्यान्न ढुवानी गरिन लागेको हो ।

 

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्