हेल्लो सरकार, एता सुन त !

जनतापनि मासु भातसँग मत साट्ने त्यही कारण हेपेर नै जनतालाई यिनले ढाँट्ने ।


 सरकार छ भन्छन् तर सरोकार कतै छैन
कोरोनाको कहरले मर्ने–बाँच्ने थाहा छैन ।

स्वास्थमन्त्री भन्छन जनताको उपचार छैन
जनताबाट लिने मात्र, दिने त यो सरकार हैन ।

श्री ५ र श्री ६ धेरै भए नेपालको सरकार
कर तिरेपछि केही छैन जनताको दरकार ।

जनतापनि मासु भातसँग मत साट्ने
त्यही कारण हेपेर नै जनतालाई यिनले ढाँट्ने ।

जनता हेर्दैछन् स्वास्थमन्त्रीको चालामाला
कमाउने मौका यही हो अर्कोपल्ट देखाजाला ।

प्रधानमन्त्री बिचरा सधैँ  बिरामी मात्र पर्ने
मौका यही हो भनेर सबले भुँडीमात्रै भर्ने ।

मौका पर्दा आफ्नो मात्रै भुँडी यिनले भर्ने
छारो हाल्न जनताको आँखामा भत्ता फिर्ता गर्ने ।

जनता भने तातोपानी , बेसार , गुर्जो खाई बस्ने
मौका यही हो कमाउने भनि सरकार घुँडा धस्ने ।

जनतालाई लकडाउन नै गरि घरभित्र थुन्ने
समय यही नै हो भनि भ्रष्टाचारको जालो बुन्ने ।

प्रधानमन्त्रीले मन्त्री सबको नै जाँच लिने
असफल मन्त्रीको नै निर्णय किन लागु हुने ?

दशैं आयो तर जनता खान नपाई मर्दैछन्
सरकार भने कार्यकर्ताको मात्रै पेट भर्दैछन्

मिनाहा गर जनताको ऋणको ब्याज सब
यस्तै भइरहे जनता सडकमा आउँदछन् अब ।

हिंसा–हत्या बढ्दैछ है देशमा नै किन फेरि
आधा आकाश ढाक्ने नै राष्ट्रपति निद्रामा हेरि ।

सरकार फेरि भन्दैछ हामीलाई किन हेप्नी  ?
अझै मौका हेर्दैछौ है करोडौ फेरि धोक्नी ।

भ्रष्टाचारीका  आँउदैछन् फाँसी लाग्ने दिन
कस्तो सरकार यो ? नाङ्गै नाच्छ, मान्दैन घिन

उपचार नपाए कर जनताले किन तिर्नुपर्ने
सिन्दुर पोते लगाई सिंहदरबार किन नछिर्ने ?

सिमा हुन्छ, जनतालाई सधैं नै किन ढाट्ने ?
कस्तो समय हो प्रदेशसँग मन्त्री पद साट्ने ।

नक्कली माल किनेर सक्कलीको दाम तिर्ने
मिलीजुली अंशबण्डा भागगरि भुँडी भर्ने ।

आजकल के बिरामी भो सरकार बालुवाटार ?
नाङ्गै नाच्दैछन् हवाई छापे चप्लल वाला भ्रष्टाचार ।

सुको पैसा जनतासँग छैन कसरी चाड मान्ने ?
होसियार भ्रष्टाचारी आयो दिन जनताले मार हान्ने ।

बल्ल–तल्ल देशले चुच्चे नक्सा मात्र पायो
डरायो सरकार फेरि जमिन भने उसैले खायो ।

सुन्दैछु नयाँ नक्साकै किताब नै छापियो
प्रभुकै डरले फेरि वितरण नै रोकियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्