कोरोनाको पीडाले छोपेको दशैं



दशैं पर्वको इतिहास धेरै लामो छ । मानव सभ्यताको इतिहासको सुरुवातसँगै विकसित भएका चालचलनहरुले पछि धर्मको रुप लिएसँगै दशैंलाई धार्मिक चाड भनिएपनि खासमा दशैं दक्षिण एसिया र खासगरि नेपाली समाजमा मनाईंदै आएको साँस्कृतिक पर्व हो । यो पर्व नेपालमा मात्र होइन, भारत, बंगलादेश, भूटान लगायतका देशहरुमा पनि आ–आफ्नै तरिकाले मनाइन्छ । दशैं मानिसको जीवनसित जोडिएको पर्व हो ।

पक्कैपनि जंगली युग, ढुंगे युग, कृषि युग जस्ता मानव सभ्यातका समयहरुका पर्वहरु आजको सूचना र प्रविधिको युग भन्दा बढी अत्यास लाग्दा थिए । कालो अन्धकार वर्षातको कहर काटेर बाँचेकाहरुकाबीच भएको भेटमा खुशियालीमा मिठो खाने, रमाउने, राम्रो लुगा लगगाउने र टिका थापेर आशिर्वाद लिने संस्कारकोरुपमा विकास भएको दशैंपछि हिन्दू धर्म मान्नेहरुका लागि मूख्य पर्व नै बन्यो ।

नेपालका हिन्दू तथा बौद्ध धर्म माननेहरुले आ–आफ्नै भएको दावी गर्छन् । बौद्धधर्म गुरु सूर्य बज्रयाना परापूर्वकालमा असत्यलाई सत्यले पराजित गरेकोले खुशियालीमा दशैं मनाईंदै आइएको बताउँछन् । उनी सुरुमा दशैं चैत्रमा मनाउने गरिएको र पछि असोजमा सारिएको बताउँछन् ।

यसरी दशैंलाई चैत्रबाट असोजमा सारिनुमा चैत्रमा गर्मी मौसम भएकोले मानिसहरुलाई झाडापखाला लाग्ने र अन्नपनि कम हुने भएको र असोजमा भने वर्षात फाटेपछिको खुल्ला आकाससहितको मौसम र अन्न हुने समय तथा सबै मिलेर भोजकोरुपमा खाएको खानाले कसैको पेट नदुख्ने र झाडापादाला पनि नलाग्ने भएकोले हुनसक्ने दशैं असोजमा सारिएको उनको तर्क छ । यता हिन्दू मतमा पनि देवीले असत्यमाथी विजय प्राप्त गरेकोले खुशियालीमा दशैं मनाउन थालिएको भनाइ रहेको छ ।

यो त भयो दशैं मनाउन थालिएको परम्पराको कुरा । मानिसलाई यसवर्षको दशैं भने रमाइलो हुने छैन । गरिबहरुका लागि त दशैं कहिल्यैपनि दशैं जस्तो भएन तर यसपालीको दशैंपनि कोरोना महामारीले संसारका भर मच्चाएको आतंकका कारण खस्कँदो व्यापार व्यसायले गर्दा घटेको मानिसको क्रय शक्तिले पक्कैपनि दशैंलाई असर गर्ने नै छ ।

कारोनाका कारण घटेको उत्पादन, व्यापार र यसको संक्रमणबाट ग्रसित मानिस र मृत्यु हुनेहरुका परिवारहरुलाई पक्कैपनि यसपालीको दशैंमा रमाइलो छाउने छैन । दशैं मनाउन र रमाइलो गर्न शहरबाट गाउँ जाने र गाउँबाट शहर जानेहरुको आवतजावत रोकिएको जस्तै भएको छ । घरपरिवार भेट भएपनि क्वारेन्टाइनमा बस्नु पर्ने बाध्यताले मानिसलाई आतंतिक पारिरहेको छ ।

क्वारेन्टाइनमा बस्नुपर्ने बाध्यात्मक अवस्थाकै कारण हजारौं मानिस शहरबाट गाउँतिर गएनन् यसपाली । पक्कैपनि दशैंको हिजोको रुप र आजको रुपमा फरक त आएकै छ तर पनि बेला बेला आउने यस्ता महामारीले पनि यसको रौनकतामा कमी ल्याउने गर्दछन् । नेपाली गाउँहरुमा पिङ बनाउने, खसी काट्ने, मेला लाग्ने, आपसमा भेटघाट हुने र सुख दुःख साटेर भावी योजना बनाउने परम्परालाई यसपाली कारोनाले रोकिदिएको छ । कोरोनाले नेपालीलाई मात्र सताएको होइन । नेपालमा भन्दा कोरोना महामारीको असर विदेश बढी छ ।

धन कमाउन विदेश गएका नेपाली दाजूभाईहरु पनिको पनि कमाइ राम्रो छैन र आउन पनि सहज भइसकेको छैन । नेपालमै भएकाहरुको लागि पनि दशैंमा गर्ने खर्च जुटाउन धौधौ भएको छ । रिन लिएर खर्च धान्ने अवस्था पनि छैन । रिन दिने मानिसलाई कोरोनाले गरिब बनाएको छ ।

दिनभरी साहुको मेलामा काम गरेर बेलुकी रासन किनेर खानुपर्ने मजदूरलाई त कति हो कति मुस्किल बनाएको कोरोनाले । त्यसैमा थपिएको दशैंले पनि झन पीडा दिएको छ । कोरोना कहरकाबीच आएको दशैंलाई लक्षित गरेर त्यसै अनुसारका साहित्य लेख्न थालिएका छन् । कवि, लेखक तथा गीतकारहरु कोरोनासँगै आएको दशैंमा मनपरी रमाइलो मनाउन नपाएकोमा कमलहरु चलाइरहेका छन् । भूकम्पका बेला जुन भोगाइहरु थिए त्यसैगरि महामारीका बेला पनि नेपालीहरुका आ–आफ्नै भोगाई र अनुभवहरु रहेका छन् ।

जिन्दगीमा आउने अनेक घुम्ति र उकाली ओरालीहरु झैं एकपछि अर्को गर्दै आएको प्राकृतिक महामारीहरुसित जुध्दै अघि बढेको नेपालीहरुको मष्तिष्क यसपालीपनि नयाँ अनुभवसँगै दशैंपनि जाने नै छ । यो त प्रत्यक वर्ष आउँछ जान्छ र चलिनै रहन्छ तर यसबाट मानिसले आफ्नो जीवन कसरी चलाउने र भावी पुस्तालाई के उपहार दिने भन्ने चासो सबैलाई हुनु जरुरी रहेको छ । धेरै मानिसहरु यसपालीको दशैंमा बुढाबुढी आमा–बाबाहरुको हातबाट टिका लगाएर आशिर्वाद थाप्न घर जान पाएनन् ।

शहरबाट छोराछोरीहरुले राम्रो कपडा र खानेकुरा ल्याइदेलान भन्ने बाबा–आमाको चाहनामा पनि यसपालीको दशैंमा यस्तै रहने भयो । केही मानिसहरु दशैंलाई धर्मसित जोडेपनि धेरै मानिसहरु दशैंलाई रमाइलो र आफन्तसितको भेटघाट गर्ने अवसरकोरुपमा लिने गर्छन ्। तर कोरोना महामारीलाई छोडेर १०–१५ वर्षअघिको दशैंलाई फर्केर हेर्दा र सयौं वर्षअघिको दशैंको स्वरुपलाई नियाल्दा पक्कैपनि फरक पाउन सकिन्छ ।

दशैं हिजो शरद ऋतुमा आउने एकतमासको मौसममा रमाइलो गर्ने बेला थियो । तर पछिल्लो दशकमा दशैं व्यापारीको चाडजस्तो भएको छ । यसो भन्दा व्यापारीले मन दुःखाउनु पर्ने कारण छैन । पहिला मानिसहरु आफूलाई चाहिने वस्तुहरु आफै उत्पादन गर्थे वा आवश्यक पर्दा वस्तु नै साटासाट गर्थे तर जव युग प्रविधि र विज्ञानको आयो तव वस्तुको सट्टा पैसाको आवश्यकता महशुस भयो अनि त हरेक वस्तु बजारमा किन्न जानु पर्ने भयो ।

दशैंका लागि चाहिने वस्तु हिजो आफैले उत्पादन गरिन्थ्यो भने आज बजारमा किन्न जानु पर्छ । अनि दशैंको व्यापारीकरण भएन त ? उसो त नराम्रो भयो भन्न खोजेको होइन तर बजारीकरण, व्यापारीकरण र उपभोक्तवादी भएको दशैंले मानिसमा आडम्बर पनि देखाउने बनाएको छ । नभइ–नभइ धनि देखाउनु पर्ने आडम्बरी पनि बनाएको दशैंले मानिसलाई । यो राम्रो होइन । नभई नभई मिठो खाएको देखाउनु पर्ने र राम्रो लगाएको देखाउनु पर्ने गलत सोंचको विकासले आजको मानिसलाई दशैंले एक्लो पनि बनाएको छ ।

त्यसकारण दशैंमात्र होइन नेपालीहरुले मनाउँदै आएका धेरै चाडपर्वहरुलाई स्वभाविक बनाउनु पर्ने भएको छ । नेपाली परम्परा र इतिहास बोकेका चाडहरुमा आज विदेशी गन्ध आइरहेको छ । नेपाली मौलिकता हराउँदै जानु, मेला खेला तथा पर्वहरुमा नेपाली भन्दा विदेशी वस्तुहरुको व्यापार हुनु, यो राम्रो लक्षण होइन । यसले नेपालीलाई गरिब र विदेशीलाई धनि बनाउँछ । नेपाली पन मेटिएर जान्छ । विदेशी पन स्थापित हुन्छ ।

यो नेपालीका लागि राम्रो कुरा होइन । आज नेपालीका चाडहरुमा बहुराष्ट्रिय कम्पनीका मालहरुको बजार व्यापक हुनुपनि नेपालकोलागि दुर्भाग्य हो । आजको बजारमा नेपालीले उब्जाएको वस्तु नबिक्ने तर विदेशी कम्पनीहरुले ल्याएका मालहरुको खोसाखोस हुनुको अर्थ के हो ? नेपालीहरुको परम्परा र चाडहरुमा विदेशी कम्पनी घुसिसकेको छ ।

नेपालीको माल नेपालीले नै नकिन्नु र विदेशीको पछि लाग्नु भनेको आफ्नो अस्तित्व आफैले मेटाउनु हो । त्यसकारण नेपाली चाडपर्वहरुको मौलिकता बचाउनु र यसलाई थप विकास गर्दै लैजानु आजको आवश्यकता हो । विकास गर्ने नाममा मौलिकता विनास गर्नुपनि खतरनाक हो । बरु नेपाली चाडपर्वहरु भित्र कति वैज्ञानिकता छ ? कति रुढीवादी पन छ त्यसलाई छुट्याएर फरक तरिकाले परिभाषा गर्दै मौलिक चाड अवको पुस्तालाई हस्तानतरण गर्न प्रयास गर्नु आजको आवश्यकता हो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्