विजयनगरमा उडान कक्षाका १ सय ५७ बालिकालाई साइकल वितरण



राम प्रघट कोरी – विजयनगर ।
कपिलवस्तुको विजयनगर गाउँपालिकामा सञ्चालित उडान कक्षाका १ सय ५७ बालिकालाई साइकल वितरण गरिएको छ । विजयनगर गाउँपालिका, सिद्धार्थ सामाजिक विकास केन्द्र र केयर नेपालको संयुक्त साझेदारीमा सञ्चालित उडान कक्षाका बालिकालाई साइकल वितरण गरिएको हो ।

उडान छोरी शिक्षाका बालिकाहरुलाई विद्यालयको वार्षिक परिक्षामा समावेश गराई उनीहरुको क्षमता अनुसार विद्यालयको विभिन्न कक्षामा भर्ना गरिएको गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले बताउनुभएको छ । यस उडान छोरी शिक्षाले विद्यालय जान छोडेको र विद्यालय नगएका बालिकाहरुलाई नियमित विद्यालय अध्ययनमा महत्वपूर्ण सहयोग पुग्ने थापाले विश्वास व्यक्त गर्नुभयो ।

उडान बालिका कक्षा शिक्षाले अन्धकारमा बितिरहेको बालिकाहरुको उज्ज्वल भविष्यतर्फ प्रोत्साहनमा महत्वपूर्ण भुमिकाको निर्वाह गरेको उहाँले बताउनुभयो । “छोरी शिक्षित भए परिवारसहित पुरै समाज परिवर्तन हुन्छ अनि मात्र शिक्षित समुदायको कल्पना गर्न सकिन्छ” अध्यक्ष थापाले भन्नुभयो ।
उहाँले बालिकाहरुलाई निरन्तर विद्यालय पठाई शिक्षित परिवार बनाउन अभिभावकहरुसँग आग्रह समेत गर्नुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका उपाध्यक्ष लक्ष्मी कुमारीले उडान बालिका शिक्षा कार्यक्रमले बालिकाहरुको भविष्य निर्माणका लागि उल्लेखनीय कार्य गरेको बताउनुभयो । हरेक क्षेत्रमा महिलाहरु पछाडी परेकाले उच्च शिक्षामा ध्यान जरुरी रहेको बताउनुभयो ।

एक महिला शिक्षित भए परिवार नै शिक्षित हुँदै जाने उहाँले बताउनुभयो । महिला पुरुषको तुलनमा घरायसी कार्यमा बढी संलग्नता हुने भएकोले परिवारलाई शिक्षित बनाउन महिलाको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो ।

यस्तै सिद्धार्थ सामाजिक विकास केन्द्रका कार्यक्रम संयोजक नारायण घिमिरेले बालिकाहरुलाई विद्यालय जान प्रोत्साहन गर्न साइकल वितरण गरिएको बताउनुभयो । उनीहरुलाई साइकलबाट विद्यालय आवतजावतमा सहज पनि हुने उहाँले बताउनुभयो ।

विचैमा विद्यालय जान छोडेका र विद्यालय नगएका बालिकाहरुलाई खोजी उडान सिकाई केन्द्रमा एक वर्षसम्म कक्षा सञ्चालन गरी पुनः विद्यालयमा भर्नाका लागि सो कक्षा सञ्चालन गरेको घिमिरे बताउनुभयो ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापा, उपाध्यक्ष लक्ष्मी कुमारी चौधरी, ७ का वडाध्यक्षको दिनेश चौधरी लगायतको उपस्थिति रहेको भने कार्यक्रम फिल्ड अफिसर तापस कुमार मिश्रको सञ्चालनमा सम्पन्न भएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्