बडादशैँको आज नवौँ दिन, सिद्धिदात्रीको विशेष पूजा



काठमाडौँ- बडादशैँको आज नवौँ दिन सिद्धिदात्री स्वरुप नवदुर्गा भवानीको विशेष पूजा तथा आराधना गरिदैछ ।

देवी दुर्गाको नवौँ रुवरुपमा सिद्धिदात्रीको नामले चिनिन्छन्। यस दिन शास्त्रीय बिधि बिधान वा पूर्ण निष्ठापूर्वक साधना गर्ने साधकको सबै प्रकारका सिद्धि प्राप्त हुने र पुरै संसार विजय गर्ने सामर्थ्य प्राप्त हुने शास्त्रमा उल्लेख छ ।

सिद्धिदात्रीले दाहिने भुजामा देवी जप माला र गदा तथा बायाँ भुजामा कमल पुष्प र शंख धारण गरेकी छन् ।

देवी सिद्धिदात्रीको वाहन सिंह हो । सिद्धिदात्री कमलको फूलमा बिराजमान छन् । नवौँ दिनमा यस देवीको पूजा तथा आराधाना गर्नाले सिद्धि प्राप्त हुन्छ ।

उनी अन्तिम देवी हुन् र उनको ध्यान गर्नाले सबै प्रकारको व्रह्माण्डिक र अन्य विश्वव्यापी इच्छाहरू पूरा हुन्छन् । भगवान शिवले सिद्धिदात्री देवीको अनुग्रहबाट धेरै उपलब्धिहरू पनि प्राप्त गरेका छन् ।

यी देवीको अनुग्रहले शिवको आधा शरीर देवीको थियो । यस कारणले शिव अर्धनारीश्वर नामले प्रख्यात छन् ।

सिद्धिदात्रीको स्मरण, ध्यान, आराधनाले यस संसारको जोखिमलाई महसुस गराउँदछ र मानवलाई अमृत पदमा पुर्‍याउँछ भन्ने विश्वास छ । देवी सिद्धिदात्री कै कृपाबाट तीनै लोकमा यक्ष, मुनि, ऋषि, मानव, राक्षस, देव, दानव इत्यादि सबैले सिद्धि प्राप्त गर्न सक्ने बताइन्छ ।

‘ॐ ह्रीं चामुण्डायै विच्चे नमो नमः’ देवीको यो बीज मन्त्र कम्तिमा १०८ पटक मन्त्र उच्चारण गरेमा शुभ हुने धार्मिक विश्वास छ ।

आजै दुर्गा भवानीको पूजा आराधना गरी बलि दिएर मनाइँदैछ ।

महानवमीका दिनमा गरिने दुर्गा पूजालगायत कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ ।

दशैँघर र कोत लगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना, दुर्गा सप्तशती, श्रीमद्देवीभागवत एवं देवी स्तोत्र पाठ गरिन्छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्