स्वास्थ्यमन्त्री पुरानै लयमा फर्किए: भन्छन्, ‘अब जनताको उपचार गर्छौं’



काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले नागरिकको जीवनरक्षाका लागि सरकार सदैव प्रतिबद्ध रहेको बताएका छन् । केही दिनअघि अब जनताको पिसिआर परिक्षण गर्न सरकारले नसक्ने घोषणा गरेका मन्त्रीले निकै चर्को दवावपछि पुरानो प्रतिवद्धता दोहर्याएका छन् ।

बडादशैं, तिहार, नेपाल संवत, छठलगायत चाडपर्वका अवसरमा देशवासीलाई शुभकामना दिँदै उनले जनस्वास्थको मापदण्ड पूरा गरी चाड मनाउन आग्रहसमेत गरेका छन् । ‘‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सम्पूर्ण नागरिकको जीवन रक्षाका लागि सदैव प्रतिबद्ध छ ।

मन्त्रालयले सबै सरकारी, निजी तथा समुदायबाट सञ्चालित अस्पतालहरूलाई कोभिड–१९को परीक्षण तथा उपचार गर्ने गरी व्यवस्था गरेको छ,’’ उनले विज्ञप्तिमार्फत भनेका छन्, ‘‘अक्सिजन, आवश्यक औषधि तथा उपकरणहरूको अभाव हुन नदिन मन्त्रालयले ठोस योजनासहित प्रभावकारी व्यवस्था मिलाएको छ ।

अस्पताल नभएका ६४९ स्थानीय तहमा ५ बेडको अस्पताल स्थापना गरी सञ्चालनका लागि आवश्यक बजेट व्यवस्था गरी पठाइएको र स्थानीय तहहरूमा कार्य सुरु भइसकेको छ ।

अस्पतालको गेटभित्र प्रवेश गरेको बिरामी उपचारबिना फर्कनुनपरोस् भनेर गरिब, विपन्न र बेवारिसे मानिसको आकस्मिक उपचार निःशुल्क गर्नेगरी व्यवस्था मिलाएका छौँ ।’’

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्