दशैँकै दिन चिर्पटले हानेर श्रीमतिको हत्या गरे



बेनी । म्याग्दीको मालिका गाउँपालिका–२ रुमको खबाङमा आइतबार राति एक व्यक्तिले चिर्पट प्रहार गरेर श्रीमतीको हत्या गरेका छन् । घरायसी विषयमा उत्पन्न विवादमा ओमबहादुर दमाईले चिर्पट प्रहार गर्दा उनकी श्रीमती ४४ वर्षीया रिमा दमाईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

बयालीस वर्षीय ओमबहादुरलाई इलाका प्रहरी कार्यालय दरवाङबाट प्रहरी सहायक निरीक्षक बलराम पौडेलको नेतृत्वमा गएको टोलीले नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक किरणजंङ्ग कुँवरले बताए । शव परीक्षणका लागि बेनी अस्पताल लैजाने तयारी भएको छ ।

घरायसी विवादमा भनाभन हुँदा मदिरा सेवन गरेका ओमबहादुरले श्रीमतीलाई दाउराको चिर्पट प्रहार गरेको स्वीकार गरेका छन् । स्थानीयवासीले इलाका प्रहरी कार्यालय दरवाङलाई खबर गरेपछि राति नै प्रहरी टोली घटनास्थल पुगेको थियो । ओमबहादुरलाई पनि थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पठाइने घटनास्थलमा रहेका प्रहरी सहायक निरीक्षक पौडेलले बताए ।

म्याग्दीमा हुने अपराधको मुख्य कारण मदिरा सेवन देखिएको छ । गत आर्थिक वर्ष २०७६७७ मा प्रहरी कार्यालयमा दर्ता भएका कुल १५७ वटा मुद्दामध्ये ४२ वटाको कारण मदिरा सेवन देखिएको प्रनाउ कुँवरले बताए । प्रहरी कार्यालयमा दर्ता भएका मुद्दामध्ये २७ प्रतिशत मदिरा र बाँकी अन्य कारणबाट भएको प्रहरीको तथ्याङ्क छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्