निर्वाचन आयोग राष्ट्रियसभा निर्वाचनको तयारीमा

By थाहा अनलाइन

December 30, 2017

सैघाली खबर काठमाडौं,१५ पुस

राष्ट्रियसभा गठनको लागि अध्यादेश जारी भएसँगै निर्वाचन आयोग राष्ट्रियसभा निर्वाचन गराउने तयारीमा लागेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश जारी गरे लगत्तै आयोगका पदाधिकारीले हिजो प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर राष्ट्रियसभा सदस्य निर्वाचनको मिति घोषणा गर्न आग्रह गरेका छन् ।

सरकारले राष्ट्रियसभा निर्वाचनको मिति तोकेपछि निर्वाचनको कार्य तालिका बनाएर राष्ट्रियसभा निर्वाचनको तयारीमा लाग्ने आयोगले जनाएको छ । आयोगले मिति घोषणा भएपछि चुनाव गराउन एक महिना चाहिने बताएको छ ।

मिति तोके पछि मनोनयन दर्ता देखि मतदान सम्मको तयारी गर्न कम्तिमा ३० दिन चाहिने जानकारी हिजै आयोगका पदाधिकारीले प्रधानमन्त्रीलाई गराएका थिए । आयोगका सहन्याधिवक्ता गीता प्रसाद तिमल्सेनाले आजै देखि कार्यतालिका बनाएर अगाडी बढ्ने तयारी आयोगले गरेको जानकारी दिनुभयो ।

आयोगले राष्ट्रियसभा निर्वाचनका लागि दल दर्ता गर्न १५ दिन म्याद दिएर बिहीबार मात्र आहृवान गरेको छ । आयोगले सात प्रदेशमा मतदान गराउने तयारी गरेको छ । प्रदेशसभा सदस्यका साथै ७ सय ५३ स्थानीय सरकारका प्रमुख र उपप्रमुखले राष्ट्रियसभा सदस्यका लागि मतदान गर्नेछन् ।