खुट्टा छिनालिएका दाङका विकलाई उपचारका लागि काठमाडौं लगिँदै



घोराही । बाँया खुट्टा छिनालिएको अवस्थामा फेला परेका दाङका कुमार विकलाई उपचारका लागि काठमाडौं लैजाने तयारी भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं ११ नवलपुर निवासी ४५ वर्षीय विकलाई प्रहरीले सोमबार राति १० बजेतिर बाँया खुट्टा छिनालिएको अवस्थामा फेला पारेको हो ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुलसीपुर १२ गोलौरीमा उक्त आक्रमण भएको जानकारी आएको छ । खुट्टा छिनिएको र दुबै हातमा पनि गम्भीर चोटलागेपछि उनलाई सोमबार राति नै राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पछि थप उपचारकालागि कोहलपुर रिफर गरिएको थियो ।

डीएसपी सिंहका अनुसार अत्याधिक रक्तस्राब भएकाले कोहलपुरबाट पनि काठमाडौं लैजाने तयारी भएको भनि जानकारी आएको छ । उनी गोलौरीमा भान्जाको विहे खान गएको र त्यहाँबाट घर तर्फ फर्किने क्रममा पढ्ढा र गोलौरीको बीचको एकान्त स्थलमा अपरिचित समुहले सांघातिक आक्रमण गरेको हुन सक्ने प्रहरीको भनाई छ ।

आक्रमण गर्ने व्यक्तिको पहिचान हुन सकेको छैन् । खोजी कार्य भने जारी रहेको डीएसपी सिंहले बताए । स्थानीयले दिएको जानकारी अनुसार सोमबार बेलुका त्यहाँका चौधरी युवाहरुबीच झडप भएको र ती दुई समूहमध्ये एक समूहले विकलाई नचिनेर आक्रमण गरेको हुन सक्ने प्रहरीको अनुमान छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्